News Portal

  • संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु

    जनगर्जन संवाददाता
    ३५८ पटक

    १३ जेठ, काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो ।

    पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।

    अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश जबराले आफ्नो एकल बेन्चमा हुने गरी तोकेका छन् । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

    संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।

    गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकेकी छन् ।

    प्रतिकृया दिनुहोस्