News Portal

  • नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय

    जनगर्जन संवाददाता
    ३७१ पटक

    ३० वैशाख, काठमाडौं । नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

    पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् ।पुनस्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४/५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो । भेलाका लागि अगुवाइ गरेको भन्दै ७ चैतमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो । नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

    कारबाही फुकुवाको निर्णय गर्नुअघि एमाले महासचिव विष्णु पौडेलले नेता नेपालसँग छलफल गरेका थिए । कारबाही फुकुवापछि अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन वार्ता भएको थियो । ओलीले फोन गरेर भेट्न प्रस्ताव गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।कारबाही फुकुवाको निर्णयलाई नेपाल पक्षका नेता योगेश भट्टराईले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएका छन् ।

    प्रतिकृया दिनुहोस्