News Portal

  • नेकपा केन्द्रीय समितिको दशौँ पूर्ण बैठक सम्पन्न

    जनगर्जन संवाददाता
    ४९६ पटक

    बुटवल । नयाँ परिस्थितीको असाधारण जिम्मेवारीलाई आत्मसाथ गर्दै राज्य रूपान्तरणको कार्यभार पूरा गर्ने दिशामा अघि बढ्ने मूल उदेश्यसहितको नयाँ राजनीतिक प्रस्ताव पारित गर्दै नेपाल कम्युनिस्ट पार्टीको दशौँ पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीमाथिको सरकारी प्रतिबन्ध हटेपछि पहिलोपटक कपिलवस्तुमा बसेको नेकपाको बैठक बैशाख ९ गते सुरु भई १४ गते मंगलबार सम्पन्न भएको हो ।

    उक्त बैठकमा पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको नयाँ राजनीतिक दस्तावेजमा अग्रगामी राजनीतिक निकासका लागि सबै पक्षसंग संवाद गर्ने विषय उल्लेख छ । बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार अग्रगामी राजनीतिक निकास र राज्य रूपान्तरणको सवाललाई मुख्य विषय बनाउँदै वर्तमान अवस्थामा देशको नेतृत्व लिने गरी जनवादी केन्द्रीयताको उच्च अभ्याससहित छलफल गरिएको छ ।

    देशको बिग्रदो अवस्थाबाट निकास दिनको लागि सचेत पहल गर्ने र त्यसका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रदेखि जसपालगायत सबै पार्टीसंग संवाद र छलफल अघि बढाउने निर्णय पनि बैठकले गरेको छ । रणनीतिक संयुक्त मोर्चालाई नयाँ उचाईका साथ अगाडी बढाउने, विभिन्न कार्यक्रमहरू मोर्चा मार्फत् अघि बढाउने र क्रान्तिकारी ध्रुवीकरणको प्रक्रियालाई जोड दिने निर्णय पनि बैठकले गरेको छ ।

    यस्तै नेता तथा कार्यकर्ता र जनतासंगको सम्बन्ध जीवन्त बनाउन र पार्टीका योजना जनतामा पुर्याउनको लागि सबै स्तरका नेता तथा कार्यकर्ताहरू प्रत्यक्ष जनताका बिचमा पुग्ने निर्णय पनि बैठकले गरेको छ । वर्तमान संसदीय व्यवस्था वा वैज्ञानिक समाजवाद भन्ने विषय जनमतद्धारा टुङ्ग्याउने र अहिलेको सन्दर्भमा जनमत संग्रहद्धारा विद्यमान समस्याको समाधान दिने भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीको कार्यनीतिक नारा प्रगतिशिल संयुक्त सरकार र जनमत संग्रहलाई जनताका बीचमा घनीभूत रुपमा लग्नको लागि आफ्ना सबै तहका नेता तथा कार्यकर्ताहरुलाई जनतामा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

    उक्त कार्ययोजना पूरा गर्न नेकपाले आगामी ४ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । ‘क्रान्तिकारी एकता र ध्रुवीकरणमा जोड दिऔं, सुमधुर जनसम्बन्धसहित सुदृढ पार्टी निर्माण गरौं’ भन्ने मुख्य नारा रहेको उक्त अभियानमा नेकपाका कार्यकर्ताहरु जनसेवा र उत्पादनमुलक कार्यमा सहभागी हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्