


काठमाडौं । सत्तासीन नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का कार्यदलबीच छलफल भइरहेको छ । विहीबार प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्तापछि दुई तर्फका कार्यदलबीच छलफल जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा एमाले र जसपा कार्यदलबीच छलफल भइरहको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । ओली र ठाकुरबीचको वार्तामा पनि कार्यदलका सदस्य सहभागी थिए ।
उपनेता नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई र जसपा नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णबीच छलफल भइरहेको छ । जसपाले जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता, संविधान संशोधन, नागरिकता लगायतका माग राखेर सरकारसँग वार्ता गरिरहेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई लिखित रुपमा समर्थन अध्यक्ष ठाकुरसँग आग्रह गरेका छन् । कार्यदलसहित जसपा नेपालका अध्यक्ष ठाकुरसँग गरेको छलफलमा प्रधानमन्त्री ओलीले आधिकारिक घोषणा गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
जसपाको माग पुरा गर्न सरकारले प्रकृया सुरु गरिसकेको हुनाले अब जसपा नेपालले पनि आधिकारिक घोषणा गर्नुपर्ने प्रधानमन्त्री ओलीले भनेको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई बताए । माओवादी केन्द्रले जुनसुकै बेला सरकारबाट समर्थन फिर्ता लिने सक्ने भएका हुनाले प्रधानमन्त्री ओलीले सरकारको समर्थनको सुनिश्चितता खोजेका छन् । सरकारविरुद्ध मोर्चा बनाउने गतिविधि तीब्र भएको कारण प्रधानमन्त्री ओलीले जसपा नेपालको साथ खोजेका छन् ।
प्रधानमन्त्री ओलीले गरेको आग्रहमा अध्यक्ष ठाकुरले अहिलेसम्म जसपाले कसैलाई समर्थन नगरेको जवाफ दिए । मुद्दा फिर्ता र बन्दी रिहाइ भएपछि त्यस आधारमा पार्टीमा छलफल गर्न सजिलो हुने भएकाले चाँडै नै मुद्दा फिर्ता र बन्दी रिहाइको कार्य गर्न ठाकुरले प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन जसपा नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले काँग्रेस र माओवादी केन्द्रसँग छलफल चलाइरहेका बेला प्रधानमन्त्री ओलीले जसपाका अर्का अध्यक्ष ठाकुरसँग छलफल गरेका हुन् । प्रधानमन्त्री र ठाकुरबीचको छलफलपछि कार्यदलको बैठक जारी छ ।
