


विक्रम संवत् २०७८ बुधबारदेखि सुरु भएको छ । विश्वभरका नेपालीले एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष हर्षोल्लास साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले बताए ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित विभिन्न दलका नेताले शुभकामना दिएका छन् । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नै देशबासीको नाममा सम्बोधन गर्दै नयाँ वर्षको शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छिन् । नयाँ वर्ष २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सासहितको निशाना छाप परिवर्तनका लागि संविधान संशोधन गर्न सम्पूर्ण राजनीतिक दलहरूबीचमा मतैक्य कायम हुनु, केही राजनीतिक समूह सशस्त्र विद्रोहको बाटो परित्याग गरी शान्तिपूर्ण मार्गमा आउनु महत्वपूर्ण राजनीतिक उपलब्धि भएको उल्लेख गरेकी छिन् ।
