


सुर्खेत । कर्णाली प्रदेशका आम नागरिकलाई पुग्ने गरी कोरोना खोपको व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारले अग्रसरता देखाएको छ ।
जसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय सरकारलाई आग्रह गर्ने भएको छ । यद्यपि संघीय सरकारले नसकेको खण्डमा प्रदेश सरकार आफैले पह थाल्ने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्ष रहेको प्रदेश विपद व्यवस्थापन केन्द्र कर्णाली प्रदेशले कोभिड– १९ को लागि विभिन्न १० वटा निर्णय गरेको छ।
भारतलगायतका देशहरुमा कोरोना संक्रमण फेरि फैलिइरहेका कारण प्रदेश प्रवेशको सीमा नाकामा भारतबाट आउने नागरिकहरुको स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउने जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ । कोभिडबारे जानकारी आदान–प्रदान गर्न हटलाइन कल सेन्टरको व्यवस्था गर्ने, सार्वजनिक यातायातमा अनिवार्यरुपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने, सीमा नाकाबाट प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड १९ देखिएका व्यक्तिहरुलाई अनिवार्यरुपमा होम आइसोलेसनमा राख्ने निर्णय पनि गरिएको छ ।
प्रत्येक पालिकामा एउटा उपचार केन्द्र राख्ने सम्वन्धमा बजेट पठाइसकिएको छ । त्यसको स्थापना गर्न सामाजिक विकास मन्त्रालयले आवश्यक काम गर्ने, प्रत्येक जिल्लामा कोभिड अस्पताल र सुर्खेत, जुम्ला र रुकुम पश्चिममा बेड सहितको आइसियु व्यवस्था गर्ने र स्वास्थ्यसम्वन्धि कार्यका लागि खटिएका साविकको जनशक्तिलाई नै परिचालन गर्ने निर्णय पनि भएको बताइएको छ ।सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य मापदण्ड अपनाएर कामहरु निरन्तर अघि बढाउने निर्णय भएको छ ।
