![](https://janagarjan.com/wp-content/uploads/2021/03/11-4.jpg)
काठमाडौं : काठमाडौं उपत्यकामा वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) जनस्वास्थ्यका दृष्टिले हानिकारक तहमा पुगेको छ। उपत्यकाका अधिकांश भेगमा एक्यूआई तीन सयभन्दा बढी पुगेको छ।
चितवन, मकवानपुर, ओखलढुंगा, बारा, पर्सालगायत जिल्लामा डढेलो लागेकाले ती भेगबाट धूवाँमिश्रित वायु उपत्यका भित्रिएकाले एक्यूआई खस्किएको विज्ञको बुझाइ छ। भारतको हरियाणा, उत्तर प्रदेशलगायत भेगमा बढेको प्रदूषणको प्रभावसमेत नेपालसम्म देखिएको उनीहरूको ठहर छ।
वायु गुणस्तर बिहीबारको तुलनामा शुक्रबार निकै खस्किएको छ। ललितपुरको भैंसेपाटी, भक्तपुर, काठमाडौंका रत्नपार्क, कीर्तिपुरलगायत भेगमा एक्यूआई बढेको छ। ‘एक सातादेखि निरन्तर रूपमा वायु गुणस्तर खस्किन थालेको छ। शुक्रबार झनै खस्कियो’, वातावरण विभागका सिनियर केमिस्ट शंकरप्रसाद पौडेलले भने।
शुक्रबारको गुणस्तर कुन हदमा पुग्यो भन्ने सुनिश्चित गर्न पछिल्लो २४ घण्टाको समग्र तथ्यांक विश्लेषण गर्नुपर्ने पौडेलले बताए। काठमाडौं उपत्यकामा सबैभन्दा बढी प्रदूषणको मात्रा भैंसेपाटी र आसपासमा रहेको विभागको तथ्यांक छ। बिहीबार सो भेगमा २४ घण्टाको एक्यूआई २३६ थियो। ‘शुक्रबारको मौसमले त्यहाँको एक्यूआई चार सयभन्दा तल नरहेको सहजै अनुमान गर्न सकिन्छ’, विभागका एक अधिकारीले भने।
जनस्वास्थ्यका दृष्टिले एक्युआई ५० देखि सयसम्मलाई सामान्य मान्ने गरिन्छ। तराईका भू–भागबाट बागमती करिडोर हुँदै उपत्यका भित्रिने प्रदूषित वायुले हिजोआज काठमाडौं उपत्यकाको वायु गुणस्तर खस्काएको विज्ञहरूको ठहर छ। एक्युआई दुई सयभन्दा बढी नाघेको अवस्थामा जनस्वास्थ्य अनुकूल मानिँदैन। बिहीबार भक्तपुरमा एक्यूआई २ सय ७ थियो, कीर्तिपुरमा १ सय ९९ र रत्नपार्कमा १ सय ८३ थियो।
प्रि—मनसुनका बेला हुने क्षणिक वर्षा र सक्रिय हुनुपर्ने वायु निष्क्रिय भएकाले अहिले प्रदूषणको मात्रा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उपत्यकाबाहिर सिमरा र सौराहमा एक्यूआई निकै बढेको वातावरण विभागले जनाएको छ। सिमरामा एक्यूआई ३ सय ४८ र सौराहको २ सय ८२ रहेको विभागको तथ्यांक छ।