News Portal

  • सीमा विवादबारे भारतीय विदेश सचिव हर्षवर्धनसँगको वार्तामा नेपालले राख्यो यस्तो प्रष्ट अडान, ओलीले के भने ?

    जनगर्जन संवाददाता
    १०३० पटक

    काठमाडौं । नेपालले ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा वार्ता र सम्वादमार्फत सीमा विवाद छिटो टुंग्याउन चाहेको सन्देश भारतलाई दिएको छ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले बिहीबार काठमाडौं आएलगत्तै नेपाली समकक्षी भरतराज पौड्यालसँग द्वीपक्षीय वार्ता गरेका थिए ।

    त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे । विदेश सचिव श्रृंगलासँग भएको भेटमा नेपाली पक्षले सीमा विवादबारे आफ्नो प्रष्ट अडान राखेको छ ।

    नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेको छ । ऐतिहासिक दस्तावेज र प्रमाणहरुका आधारमा यो भूमि आफ्नो भएको नेपालको मत छ ।

    भारतीय विदेश सचिवसँग भएको औपचारिक वार्ता र शिष्टचार भेटहरुमा नेपाली पक्षले ऐतिहासिक दस्ताबेज र प्रमाणहरुका आधारमा सीमा विवाद छिटो हल गर्नुपर्ने मत राखेको छ ।

    विदेश सचिव श्रृंगलासँग सबै विषयमा खुलस्त कुराकानी भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले बताए । ‘हामीले दुईपक्षीय सहकार्यका विविध क्षेत्रमा भएका प्रगति र समस्याहरुबारे वृहत छलफल गर्‍यौं’ उनले भने, ‘सीमा विवाद, प्रवूद्ध समूहको प्रतिवेदन लगायतका दुई देशका बीचमा रहेका आउटस्ट्याडिङ विषयहरुमा पनि खुलेर छलफल भयो ।’

    ‘इतिहासले अधुरा छोडेका मुद्धाहरुलाई छिटो टुंग्याएर एउटा विश्वासको जग बनाएर अगाडि बढ्नुपर्छ भन्नेमा मैले जोड दिएको छु’ मन्त्री ज्ञवालीले भनेका छन् । नेपालले सार्वभौम समानता, पारस्परिक लाभ, अहस्तक्षेप र आपसी विश्वासका आधारमा सम्बन्धलाई सुदृढ गराउन चाहेको प्रष्ट सन्देश दिएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

    ओलीले के भने ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतले कूटनीतिक वार्ताकै माध्यमबाट सीमालगायतका सम्पूर्ण समस्याको समाधान गरेर जान सक्ने बताएका छन् । नेपालको दुई दिने भ्रमणमा आएका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलालाई बालुवाटारमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले वार्ताकै माध्यमबाट विभिन्न विषयहरुमा देखिएको समस्या समाधान गर्न सकिने विश्वास दुई मुलुक बीचमा रहेको प्रस्ट पारेका हुन् ।

    ‘उहाँ (प्रधानमन्त्री ओली)ले नेपाल र भारतका बीचमा समाधान गर्न सकिने विषयहरु रहेको बताउनु भयो । हामी बस्यौं भने वार्ताकै माध्यमद्वारा यी विषयहरुलाई समाधान गरेर जान सक्छौं । यो विश्वास हाम्रो बीचमा रहेको छ,’ प्रधानमन्त्री ओलीलाई उदृत गर्दै परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने ।

    प्रधानमन्त्री ओलीलाई उदृत गर्दै भट्टराईले थपे,‘मैले (ओली) प्रधानमन्त्री मोदीजीसँग पनि यही कुरा भनेको छु । इतिहासले छोडेका कतिपय समस्याहरु छन् । ती छोडेका सीमालगायतका समस्याहरुलाई पनि हामी वार्ता गरेर टुंग्याएर अगाडि जान सक्छौं भन्ने हाम्रो विश्वास र मान्यता हो ।’

    प्रधानमन्त्री ओलीलाई भेट्न विदेश सचिव श्रृंगला बिहीबार बेलुकी साढे ५ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीलाई सुरुवातमा सचिव श्रृंगलाले भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देश सुनाएका थिए । मोदीले ओलीको स्वास्थ्यलाभको कामना गरेका थिए ।

    ‘साथै, मोदीजीले नेपाल–भारत सम्बन्धलाई अब नयाँ हिसाबले अगाडि बढाएर लानु पर्छ भन्ने सन्देश पठाउनु भएको रहेछ । त्यो सन्देश पनि सचिवजीले दिनु भयो,’ भट्टराईले भने ।

    भेटमा बसेका भट्टराईका अनुसार विदेश सचिव श्रृंगलाले त्यसपछि बिहीबारै भएको विदेश सचिवस्तरमा नेपाल–भारत सम्बन्धका बारे समग्र पक्षलाई आफूहरुले छलफल गरेको प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

    ‘हाम्रो सम्बन्धको दायरा ज्यादै फराकिलो छ । यो फराकिलो सम्बन्धको दायरालाई अगाडि बनाएर लानु पर्छ र अझै नयाँ हिसाबमा सम्बन्धलाई उचाईमा पुर्‍याउनु पर्छ भन्ने नै कुरा भारतको हो । समस्याहरुलाई वार्ताद्वारा समाधान गरेर जानु पर्छ नै भन्ने कुरा गर्नु भयो,’ श्रृंगलालाई उदृत गर्दै भट्टराईले भने । त्यसपछि प्रधानमन्त्री ओलीले सचिव श्रृंगलालाई नेपाल भारतसँगको सम्बन्धलाई अगाडि बढाउन चाहेको बताएका थिए ।

    ‘नेपाल–भारत सम्बन्ध बहुआयमिक छ । यो तहको, यति फराकिलो र बहुविषयक भएको सम्बन्धहरु अन्य मुलुकको बीचमा रहेको छैन । यो सम्बन्धको बीचमा कतिपय समस्याहरु पनि होलान् । त्यो समस्याहरुलाई वार्ताकै माध्यमद्वारा हामी अगाडि बढाएर लिएर जान चाहन्छौं,’ ओलीलाई उदृत गर्दै भट्टराईले भने,‘हामीले गत वर्षदेखि नै वार्ता गर्ने भन्दै आएका हौं ।

    त्यो वार्तालाई निरन्तरता दिने कुरा छ । सीमा लगायत थुप्रै समस्याहरु पनि छन् । नजिकको छिमेकीको हिसाबले विषय धेरै भइसकेपछि हामीसँग समस्याहरु पनि हुने नै गर्छ । र, तीनलाई वार्ताद्वारा समाधान गर्ने नै हाम्रो चाहना हो । हामी त्यही गर्न चाहन्छौं । र, त्यसको लागि सुरुदेखि नै त्यही प्रयास हो र अहिले पनि त्यही कुरा राख्न चाहन्छौं ।’

    प्रतिकृया दिनुहोस्