News Portal

  • केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन

    जनगर्जन संवाददाता
    ४२२ पटक

    काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्ने प्रयासस्वरुप सोमबार अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीच भएको वार्ता ठोस निष्कर्षमा पुग्न सकेन । एमाले मुख्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले आ–आफ्ना अडान नछोडेपछि सहमति जुट्न नसकेको हो ।

    तीन महिनाभन्दा लामो अन्तरालमा ओली र माधव आमनेसामने भएका हुन् । झण्डै तीन घण्टा चलेको छलफलमा तातोपानी पिउँदै उनीहरुबीच आन्तरिक राजनीतिका तातो गफ चलेको थियो । त्यस क्रममा दुवै नेताबीच नेकपामा रहँदा भएका विवादबारे पनि तिक्तता पोखापोख भएको थियो ।

    फागुन २८ मा ओली पक्षले एकलौटी रुपमा गरेको निर्णयका विषयबाट कुराकानी सुरु भए पनि ओलीले नेकपामा रहँदादेखि नै आफूलाई पार्टीभित्रबाट सहयोग नभएको भन्दै गुनासो गरेका थिए । जवाफमा नेपालले पनि आफूहरुलाई नेकपामा रहँदादेखि नै पेल्ने नीति लिएको भन्दै ओलीको भनाइको प्रतिवाद गरेका थिए ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपालका अनुसार बैठकको सुरुवात राम्रै भए पनि छुट्टिने बेलामा टर्रो कुरा भएको प्रतिक्रिया दिए । ‘सुरुवातमा राम्रो कुरा भयो, तर छुट्टिने बेलामा टर्रो भयो, जसले यथास्थानमा रहने स्थिति बन्यो,’ बैठकपछि उनले भने ।

    छलफलपछि दुवै पक्षका नेताले खुला कुराकानी भए पनि निर्णयमा पुग्न नसकिएको बताएका छन् । माधव पक्षका केन्द्रीय सदस्य रघुजी पन्तले वार्ता सकारात्मक भए पनि सहमतिमा पुग्न नसकिएको जानकारी दिए । ‘छलफल सकारात्मक ढङ्गले सुरु भएको छ । तर दुवै पक्षले कुराकानीमा राखेका अडान नछोड्दा कुनै सहमति वा निष्कर्ष आएन’, बैठकका उठेका विषयबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै पन्तले भने ।त्यस्तै, परराष्ट्रमन्त्री एवं ओली पक्षका नेता प्रदीप ज्ञवालीले खुला छलफलका साथ नेताहरुबीच साझा अवधारणा निर्माण भएको दावी गरे । ‘खुला छलफल भएको छ, सबै नेताहरुबीच सर्वोच्चको फैसलालाई अवसरका रुपमा लिएर एमालेलाई सुदृढ गर्दै बलियो एमाले बनाउन सकेमात्रै अरु वामपन्थी पार्टीबीच पनि एकता गर्न सकिन्छ भन्ने साझा अवधारणा तय भएको छ’, ज्ञवालीले भने, ‘तर पनि एउटै विन्दुमा पुग्न सकिएन ।’

    प्रतिकृया दिनुहोस्