
काठमाडौ । काठमाडौँ महानगरपालिकाले फोहर स्रोतमै वर्गीकरण गरेर व्यवस्थापन गर्न थालेपछि अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा लगिने फोहरको मात्रा घटेको छ। हाल ३२ वडामध्ये १० वडामा स्रोतमै फोहर वर्गीकरण गरी व्यवस्थापनको काम गरिएको छ।
फोहर वर्गीकरण अघि कामपाबाट दैनिक २० गाडी फोहर बञ्चरेडाँडा पठाइन्थ्यो भने अहिले फोहरको मात्रा घट्दै दैनिक १५ गाडी मात्रै पठाउने गरिएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन्।
हाल वडा नं १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ मा वर्गीकृत फोहर व्यवस्थापन भइरहेको छ। कामपाले ३२ वडालाई भौगोलिक र जनसङ्ख्याका आधारमा छ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा एक ट्रान्सफर स्टेशन निर्माण गरेर फोहर व्यवस्थापनको काम थालेको छ।
राईका अनुसार वर्गीकरण गरी फोहर व्यवस्थापन गर्दा बञ्चरेडाँडामा हुने प्रदूषण कम हुनुका साथै ढुवानी खर्चसमेत घट्नेछ। फोहरमैला व्यवस्थापन ऐन २०६८ र काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार स्रोतमै फोहर वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
हाल उपत्यकाका १८ स्थानीय तहबाट दैनिक १,६०० मेट्रिक टन फोहर उत्पादन भइरहेको छ।
भान्छामा उत्पादन हुने फोहरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्न सकिन्छ। तरकारी, फलफूलका बोक्रा, चियाको छोक्रा, हड्डी, अण्डा, माछा मासु आदिलाई कुहिने फोहरमा राखिन्छ। प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, काठ, रबर, फलाम लगायतका वस्तु नकुहिने फोहरमा पर्छन्। नकुहिने फोहर उत्पादकले आफैँ बेच्न पनि सक्छन्।