News Portal

कोहलपुरको पर्यटन डिभिजन कार्यालय: दोहोरिने योजना, शुन्य परिणाम

जनगर्जन संवाददाता२०८२ बैशाख १०
८९ पटक

बाँके । बाँके जिल्लाको कोहलपुरमा अवस्थित लुम्बिनी प्रदेशको पर्यटन डिभिजन कार्यालयले प्रत्येक वर्ष उही प्रकृतिका योजना तर्जुमा गर्दै आए पनि परिणाम भने देखिनसकेको गुनासो बढ्दो छ। प्रदेशका झण्डै ६ जिल्लामा कार्यक्षेत्र फैलिएको यस कार्यालयले अनुत्पादक क्षेत्रमा योजना निर्माण गर्ने र त्यसको कार्यान्वयनमा भने पूर्णता नदिने गरेको पाइएको छ।

कार्यालयसँग २०८०/८१ र २०८१/८२ आर्थिक वर्षका लागि विनियोजित बजेट तथा कार्यसम्पन्नताको विवरण माग गर्दा ‘समय लाग्छ’ भन्ने बहानामा टार्न खोजिएको स्पष्ट देखिन्छ। लामो समयदेखि निमित्त कार्यालय प्रमुखमार्फत सञ्चालन हुँदै आएको यस कार्यालयले हालसम्म एक आर्थिक वर्षमा विनियोजित बजेट, खर्च तथा योजना कार्यान्वयनको पारदर्शिता सार्वजनिक नगर्नु आश्चर्यजनक मानिएको छ।

नेपाल सरकारको अघिल्लो निर्णय अनुसार एउटै प्रकृतिका योजना भएका कार्यालयलाई समायोजन गरिने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा नआएको अवस्था छ। कार्यालयले पारदर्शिता नदेखाउनु र दोहोरिने योजनामा बजेट खर्च गर्दै आउनुले सरकारी कोष दुरुपयोगको आशंका समेत बढाएको छ।

देशको सामाजिक उत्तरदायित्व वहन गर्ने, धार्मिक आस्था, भेषभूषा, भाषा शैली, परम्परागत संरचना संरक्षण तथा सीपमूलक तालिम प्रदान गर्ने जिम्मेवारी बोकेको कार्यालयको यस्तो स्थिति रहनु गम्भीर प्रश्नको विषय बनेको छ। नागरिकस्तरमा कार्यालयले आफ्नो उद्देश्यबाट भट्किएको र बजेटमा चलाखीपन देखिएको भन्ने धारणा विस्तार हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्