
काठमाडौ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार अपराह्न ४:२५ देखि राति १० बजेसम्म बानेश्वर-तिनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँको नेतृत्वमा गरिएको राजावादी प्रदर्शनले उग्र रूप लिएपछि प्रशासनले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यू लगाएको हो।
शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन क्रममा प्रदर्शनकारीहरू आक्रमक बनेपछि स्थिति तनावपूर्ण बनेको थियो। गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुल, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म तथा गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यू आदेश लागू गरिएको प्रशासनले जनाएको छ।
प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगामुढा गर्दै लाठीसहित आक्रमण गरेका छन्। केही प्रदर्शनकारीहरूले सुरक्षाकर्मीको हतियार खोसेकोसमेत जानकारी आएको छ। झडपका क्रममा एक सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् भने अन्य सुरक्षाकर्मीलाई पनि चोटपटक लागेको छ।
प्रदर्शन उग्र बन्दै जाँदा केही प्रदर्शनकारीहरूले सडक किनारमा रहेका व्यक्तिका घर तथा सवारीसाधनमा आगजनी गरेको बताइएको छ। तोडफोडका कारण स्थानीय व्यवसायी तथा सर्वसाधारण त्रसित बनेका छन्।
काठमाडौं प्रशासनले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको भन्दै सर्वसाधारणलाई तोकिएको क्षेत्रभित्र नजान आग्रह गरेको छ। साथै, प्रशासनले शान्ति सुरक्षा भंग गर्ने कार्य नगर्न प्रदर्शनकारीहरूलाई चेतावनी दिएको छ।
स्थिति अझै पनि तनावपूर्ण रहेकाले सुरक्षा निकायहरूले थप निगरानी बढाएका छन्।