जनगर्जन संवाददाता

२० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा १९ माघमा बसेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट निश्कासन गरेको उल्लेख गरेका छन् । ‘उहाँ पार्टी सदस्य नै नरहनु भएको संसदीय दलको नेताका रुपमा रहन नसक्ने पार्टी संसदीय दल र सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छु’ पत्रमा भनिएको छ ।
उनले पार्टीका कुनै सदस्यलाई निश्कासनको कारबाही बोर्डको सिफारिसमा केन्द्रीय कमिटीले गर्नसक्ने संसदीय दलको विधानसमेत स्मरण गराएका छन् । पार्टी केन्द्रीय कमिटीमा आफूहरुको बहुमत रहेको भन्दै प्रचण्डले भनेका छन्, ‘केन्द्रीय कमिटीको बैठकले सदस्यताबाट समेत निश्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय बैध नठहरिने वस्तुतथ्य सम्बन्धित सबैलाई जानकारी गराउने फागुन १९ गते बसेको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’
उनले संसदीय दलको नेताका नाममा प्रधानमन्त्री ओली वा अरु कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाही अनधिकृत भई मान्य नहुने बताएका छन् ।
पत्र बुझाउन संघीय संसद सदस्यहरु देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, दिनानाथ शर्मा गएका थिए ।
