News Portal

शाहीको देउवालाई चुनौति: ,राजाबारे कांग्रेसको धारणा छ भने चुनाव गराउनुहोस्, हिम्मत छ?

जनगर्जन संवाददाता२०८१ चैत्र ११
५० पटक

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राजसंस्थाबारे कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गर्न चुनौती दिएका छन्। शाहीले राजसंस्थाबारे पार्टीभित्र चुनाव गराएर कांग्रेसको वास्तविक दृष्टिकोण पत्ता लगाउन आग्रह गरेका छन्।

कांग्रेस सभापति देउवाले राजसंस्थाको पुनर्स्थापना असम्भव भएको र पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाको सभापति बनाउन सुझाव दिएका थिए। देउवाको उक्त भनाइप्रति कडा प्रतिक्रिया जनाउँदै शाहीले कांग्रेसले बीपी कोइरालाको सिद्धान्त बेचेको आरोप लगाए।

“बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति देउवाज्यू, तपाईंले राजालाई राप्रपाको सभापति बनाउने कुरा गर्नुभएछ। त्यसो भए तपाईंले तीन पटक प्रधानमन्त्री बन्दा राप्रपाकै सभापतिबाट सपथ लिनुभएको हो?” शाहीले प्रश्न गरे।

उनले देउवालाई चुनौती दिँदै भने, “जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ भन्ने नेपाली उखान याद गर्नुहोस्। राजाबारे कांग्रेसको धारणा स्पष्ट छ भने पार्टीभित्र चुनाव गराउनुहोस्। हिम्मत छ?”

शाहीको यस चुनौतीले देउवाको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएको छ भने कांग्रेसभित्र राजसंस्थाबारेको वास्तविक दृष्टिकोण के हो भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ।

प्रतिकृया दिनुहोस्