
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले हालै भइरहेका राजावादी प्रदर्शनहरूमा तीनवटा प्रमुख स्वार्थहरूको गठजोड रहेको खुलासा गरेका छन्।
काठमाडौंमा शनिबार सम्पन्न पार्टी सम्बद्ध जनवर्गीय संगठन र मोर्चाका प्रमुखहरूको संयुक्त बैठकमा बोल्दै प्रवक्ता प्रकाण्डले नेपालको भूराजनीतिक परिस्थिति संवेदनशील रहेको भन्दै पश्चिमा साम्राज्यवादीहरू, भारतीय हिन्दूवादी संस्थापन पक्ष र पूर्व राजा ज्ञानेन्द्र शाहको पुनरागमनको चाहना राख्ने शक्तिहरूबीच गठबन्धन बनेको बताए।
उनका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतीय कार्यकालपछि अमेरिकी नीति फासीवादी दिशामा उन्मुख भएको छ। यसले युक्रेन, युरोपियन युनियनजस्ता मुलुकहरूसँगको सम्बन्धमा तिक्तता उत्पन्न गराएको छ। प्रकाण्डले भने, “अमेरिकी एकध्रुवीय विश्व व्यवस्थाविरुद्ध बहुध्रुवीय वा द्विध्रुवीय विश्वको विकासले अमेरिकी व्यवस्थामा चुनौती थपेको छ। यो चुनौतीलाई समाधान गर्न अमेरिकाले नाफा र बजारका लागि जुनसुकै निर्णय गर्नुपर्ने स्थितिमा पुगेको छ।”
प्रवक्ता प्रकाण्डका अनुसार, नेपालमा देखिएको राजावादी आन्दोलनलाई भूराजनीतिक अस्थिरता र बाह्य शक्तिको चलखेलसँग जोडेर बुझ्नुपर्छ। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको सहमतिको उल्लेख गर्दै दक्षिण एशियाको मामिला भारतमार्फत डिल गर्ने र अमेरिकी स्वार्थमा भारत बाधक नबन्ने कुरामा सहमति भएको दाबी गरे।
पूर्व राजा ज्ञानेन्द्र शाहसहितका प्रतिगामी शक्तिहरूले सत्तामा फर्किन चाहना राखे पनि त्यसको पछाडि बाह्य शक्तिको स्वार्थसमेत रहेको प्रकाण्डको भनाइ छ। उनले भने, “बाह्य शक्तिले राजावादीहरू मात्र नभई कांग्रेसलाई पनि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता एजेन्डाबाट पछि हटाउन खोजेका छन्। नेपाली सेनालाई संविधानको पालना गर्न लगाउने नाममा प्रभावमा पार्ने प्रयास गरिएको छ।”
प्रवक्ता प्रकाण्डले यस्तो चुनौतीपूर्ण परिस्थितिमा समाजवादी मोर्चा र कम्युनिस्ट आन्दोलनलाई नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले बाह्य शक्तिको हस्तक्षेप रोक्न र समाजवादलाई राजनीतिक निकासको रूपमा अघि सार्न आवश्यक रहेको बताए।