News Portal

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

जनगर्जन संवाददाता२०८१ चैत्र ७
१३८ पटक

काठमाडौँ । आज मार्च २१, अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस, विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष यस दिनलाई विभेद उन्मूलन दिवसका रूपमा मनाउने गरिएको छ।

यस वर्ष “सबै किसिमका जातीय तथा रंगभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको ६० वर्ष” भन्ने मूल नाराका साथ यो दिवस मनाइँदैछ। नेपालमा पनि दलित नागरिक समाज, संघसंस्था तथा मानव अधिकारवादी समूहहरूले विविध कार्यक्रमको आयोजना गर्दै जातीय विभेदको अवस्था, चुनौती र समाधानका उपायबारे छलफल गरिरहेका छन्।

यो दिवसको इतिहास दक्षिण अफ्रिकाको सार्पभिल्लेसँग जोडिएको छ। सन् १९६० मार्च २१ मा त्यहाँ भएको रंगभेदी कानुनविरुद्धको शान्तिपूर्ण जनप्रदर्शनमा राज्यसत्ताले गोली प्रहार गर्दा ६९ जनाको मृत्यु भएको थियो भने ३०० भन्दा बढी घाइते भएका थिए। यस दर्दनाक घटनाको विरोधस्वरूप संयुक्त राष्ट्रसंघले सन् १९६६ मा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका रूपमा घोषणा गर्‍यो।

नेपालमा भने यो दिवस २०४६ सालको परिवर्तनपछि मात्र मनाउन थालिएको हो। नेपालको संविधान २०७२ ले छुवाछुतविरुद्धको हक र दलितको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरे पनि व्यवहारमा तिनको कार्यान्वयनमा चुनौतीहरू रहेका छन्।

आजको दिन नेपालका विभिन्न स्थानहरूमा जातीय विभेदविरुद्धको सचेतना कार्यक्रम, गोष्ठी, र्याली तथा बहसहरूको आयोजना गरिँदैछ। विभेदविरुद्धको कानुनी व्यवस्था भए पनि व्यवहारमा विद्यमान समस्याहरू समाधान गर्न अझै लामो यात्रा तय गर्नुपर्ने सरोकारवालाहरूको धारणा छ।

प्रतिकृया दिनुहोस्