
थाहा भएन म कहाँ हराए
थाहा भएन म कहाँ हराए
कहिले नेताले चुनाव जितेको विजय भोजमा हराएँ ।
कहिले ठेकेदारले ठेक्का पाएर दिएको भोजमा हराएँ ।
कहिले सँगै पढेका साथीहरू विदेश बनाउने लाइसेन्स, पासपोर्ट बनाएर दिएको भोजमा हराएँ ।
कहिले छिमेकीको बिहेको भोजमा हराएँ ।
कहिले मरेका मानिसहरूको घरमा तास खेल्ने मानिसहरूको जमात हेर्दै हराएँ ।
कहिले आफूजस्तै युवा साथीहरु चिटिक्क परेको चारकुने बकासमा लास आएको भिडियो हेर्दै हराएँ ।
कहिले युवाहरूलाई अनागरिक बनाउँदै शरणार्थी बनाएर दलाल कुपुत्रहरूले लाखौंको बिटो खाएको भिडियो हेर्दै हराएँ ।
थाहै भएन म कहाँ हराए ।
कहिले पहाडी थारु मधेसी बिचको द्वन्द हेर्दै हराएँ ।
कहिले विभिन्न धर्मको नाममा हातमा तरवार लगेर आपसमा काटमाट गरेको भिडियो हेर्दै हराएँ ।
थाहै भएन म कहाँ हराएँ
आज मैले मलाई सपनीमा देखेँ : म त पूर्वको टिष्टमा थिएँ,
पश्चिमको काँगडामा थिएँ,
उत्तरको तिब्बतमा थिएँ ।
ब्युँझिदा त म मलाई नै खोजिरहेको थिएँ ।
आज म त्यो मलाई खोजिरहेको छु जुन मलाई देख्दा दुनिया डराउँथ्यो ।
हिटलरले आत्मसमर्पण गरेको थियो ।
भनेको थियो कसैलाई मृत्युदेखि डर लाग्दैन भने कि त्यो झुठ बोल्दैछ कि त्यो गोर्खाली हो भनेर ।
थाहै भएन त्यो म कहाँ हराएँ ।
मैले मलाई आधा मात्र भेटेँ र आफैलाई हेरेँ ।
म त अन्तिम अवस्थामा मरिरहेको रहेछु ।
मेरो छाती मात्र बँचेको रहेछ ।
त्यही छातीमा पनि एमसिसी पास गरेर फौजी अभ्यास गराइरहेका छन् रे।
मेरो त छातीमा विदेशी फौजीहरुले ड्रेस लगाएर मार्च पास गरिरहेको छन् ।
मेरो त शरीरको टुक्राटुक्रा गरेर मारिरहेका छन् रे ।
मेरो टाउको तिब्बतमा रहेछ
खुट्टा पश्चिम काँगडा, गढवालमा रहेछ ।
घुँडा लिपुलेक कालापानीमा आन्द्राभूरी नेपालगञ्जमा
अझ पनि म मलाई खोज्दैछु म कहाँ हराएँ ।
म त्यो मलाई खोज्दैछु जुन म मा विश्व डराउँथ्यो जुन म कहिले र कसैसँग पनि झुक्दैनथे, हार्दैनथे, डराउँदैनथे, थाक्दैनथे ।
थाहै भएन म कहाँ हराएँ । त्यो म सबैमा खोज्दैछु ।
पुलिस, आर्मी, डाक्टर, पाइलटमा, इन्जिनियर, नेता, सम्पूर्ण युवा, विद्यार्थी र पत्रकारहरूमा
म त्यो मलाई खोज्दैछु जुन म हराएको छु ।
सर्जक जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन