
बैतडी । जिल्लाको सिगास गाउँपालिका–१, अङडेगाडाका प्रकाश दमाईंले आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पुर्याउन मलामी पाएनन् ।
प्रकाशकी आमा ६१ वर्षीया मानाको शनिबार बिहान ११ बजेतिर मृत्यु भएको थियो । मानाको मृत्युको खबर पाएपछि
गाउँलेहरु उपस्थित भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन् ।
आङडेगाडामा झन्डै ६५–७० घरधुरी छन् । दमाईं जातिमा प्रकाशको एक घर मात्रै छ । परिवारमा प्रकाशका बुबा जयराम, प्रकाशकी श्रीमती र चार सन्तान छन् । बैतडीको पाटन नगरपालिकाबाट बसाइँसराइ गरेर आएको उनको टेलर परिवारले मृत्युजस्तो शोकको घडीमा पनि मलामी नपाएर सामाजिक अन्याय भोग्नुपरेको छ ।
प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट काकाका छोराहरू बोलाएको बताए ।
त्यसो त आमाको शव बोक्ने मलामी नपाएपछि प्रकाशले गाडीमा हालेर घाटसम्म पुर्याउने प्रयत्न दिउँसैदेखि गरेका थिए । तर, दिनभर गाडी नपाएका उनले साँझ ८ बजेतिर मात्रै एउटा ट्रयाक्टर भाडामा पाएको बताए।
मानव सभ्यताको क्रममा समाजलाई आवश्यक पर्ने उत्पादनका साधन निर्माण गर्ने देखि समाजका तमाम संस्कार र श्रम गर्ने दलितहरुको निधनमा समेत अन्य मानिसहरू सहभागी नहुनु निकै पीडादायी घटना हो।साथै यो जातव्यवस्थाले समाजलाई कसरी गाँजेको छ भन्ने कुराको प्रतिनिधिमूलक घटना पनि हो यो।
हिन्दू ब्राह्मण जात व्यवस्था अनुसार मानिसलाई ब्राह्मण , क्षेत्री, बैष्य र शुद्र गरि बिभाजन गरेको छ भने ती मध्ये कसले के गर्न मिल्ने र कसले के के गर्न नहुने भनि श्रम बिभाजन गरिएको छ।
देशमा गणतन्त्र स्थापना भएर जनताद्वारा छानिएका प्रतिनिधिले शासन सञ्चालन गर्न पाउने प्रणाली स्थापना भएको छ, तर समाजमा जातभात र छुवाछूत जस्तो कानुनले समेत बर्जित भनिएको प्रथा कायमै छ।