News Portal

  • भारतमा बिजुली बेच्न बाटो खुल्यो

    जनगर्जन संवाददाता
    ३१७ पटक

    १५ फागुन, काठमाडौं । नेपालको बिजुली भारत निर्यात गर्न बाटो खुलेको छ । अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने गरी भारतले एक कार्यविधि जारी गरेसँगै नेपालबाट भारतमा बिजुली बेच्न परेको कानूनी बाधा समाप्त भएको छ ।

    २०७५ माघ ११ गते भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा नै नेपालको बिजुलीलाई भारतीय पावर एक्सचेन्ज मार्केटमा प्रवेश दिने सहमति भएको थियो । त्यसका लागि छिट्टै कार्यविधि बनाउने प्रतिवद्धता गरेको भारतले दुई वर्षपछि मात्रै यो दस्तावेज जारी गरेको छ ।

    यो कार्यविधिको अभावमा नेपाल विद्युत प्राधिकरणले भारतको पावर एक्सचेन्ज मार्केटमा वर्षायाममा खेर जाँदा पनि बिजुली बेच्न सकिरहेको थिएन ।  कार्यविधि आएपछि नेपाललाई भारतमा बिजुली बेच्न कानूनी रुपमा सबै बाटो खुला भएको हो ।

    नेपाल विद्युत प्राधिकरणले भारतको नोडल एजेन्सी नटीपीसी विद्युत ब्यापार निगम (एनभीभीएन)सँग आफ्नो बिजुली भारतको पावर एक्सचेन्ज मार्केटमा लैजाने गरी समझदारी गरिसकेको छ ।  तर, समझदारी कार्यान्वयनका लागि कार्यविधिको अभावमा वर्षायाममा नेपालमा दैनिक २ सय मेगावाटसम्म बिजुली खेर जाँदा पनि भारतमा निर्यात गर्न सकिएको थिएन ।

    सरकारले नेपाल विद्युत प्राधिकरणलाई भारत र बंगलादेशको पावर एक्सचेन्ज बजारमा नेपालमा खपत भएर बढी हुने बिजुली बेच्न अनुमति दिइसकेको छ ।

    भारतमा भारतीय विद्युत एक्सचेन्ज (आईईएक्स) र पावर एक्सचेन्ज इन्डिया लिमिटेड (पीएक्सआईएल) गरी दुई वटा विद्युत ब्यापारको एक्सचेन्ज अनलाइन मार्केट छन् । यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली एक दिन अगावै बुक गर्न सकिन्छ ।

    आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्नका लागि प्रस्ताव राख्छन् । यस्ता डे-अहेड वा टर्म अहेड बजारमा विदेशबाट आयातित बिजुली बेच्न भारतको अन्तरदेशीय विद्युत ब्यापार निर्देशिकाले बाटो खुला गरेको छ ।

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य कार्यविधि जारी भएकोबारे औपचारिक जानकारी नआएको बताउँछन् । ‘कार्यविधि आएको हो भने हामीलाई वैशाखपछि बढी हुने बिजुली भारतमा सिधै पसल थापे जसरी बिक्री गर्नसक्छौं,’ उनले भने,’हामी द्विपक्षीय वार्तामार्फत आगामी वर्षमा बढी हुने बिजुली भारत पठाउन प्रयासरत थियो, कार्यविधि आउँदा प्रक्रिया छोटिन्छ ।’

    प्रतिकृया दिनुहोस्