५ माघ, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले वर्तमान ओली नेतृत्वको सरकार मालिक र दलालहरुको हतियार भएको टिप्पणी गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको शनिवार सुर्खेतमा आयोजना गरिएको ‘राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रम’लाई सम्वोधन गर्दै महासचिव विप्लवले वर्तमान ओली नेतृत्वको सरकार मालिक र दलालहरुको अस्सली हतियार भएको टिप्पणी गर्नु भएको हो ।
अहिलेको सरकार नेपाली जनताको भावनालाई बुझेर काममा नलागेको भन्दै उहाँले अमेरिकी साम्राज्यवादी मालिक र दलालहरुको गोटी भएको बताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो ‘यो सरकार अमेरिकी साम्राज्यवादी मालिकहरुको हो, नेपालका दलालहरुको हो, यो नेपाली जनताको सरकार होईन, नेपाली जनताको सत्ता पनि आएको छैन ।’
महासचिव विप्लवले अर्काको भर पर्ने राजनीति भनेको दलाल राजनीति भएको बताउनु भयो । ‘नेपालका कुनै पनि पार्टीहरुको आफ्नै आर्थिक दृष्टिकोण छैन र उत्पादनको योजना छैन, यिनीहरु कसरी चलिरहेका छन ? यो दलाल राजनीति हो, यो भष्टाचार र दलालीको रुप हो’ उहाँले भन्नु भयो ।
‘नेपाल कम्युनिष्ट पार्टी अरु पार्टी भन्दा फरक पार्टी हो,यसको आफ्नै आर्थिक दृष्टिकोण छ हामीले नयाँ आर्थिक मार्ग सहित नेता, कार्यकर्ता र जनतालाई आत्मनिर्भर हुदै समृद्धितिर लिने योजना वनाएका छौ’ महासचिव विप्लवले भन्नु भयो, हाम्रो पार्टीका नेता कार्यकर्ताले भात खानकोलागि चन्दा लिनु पर्दैन हामी देशभर उत्पादनको योजनामा छौ,आत्मनिर्भर हुदै गएका छौ, अव कृषिसंगै व्यापार र उद्योगतिर पार्टी जाँदैछ ।’
उहाँले नेपालमा असल सम्भावना र खराव सम्भावना दुवै देखापरेको जिकिर गर्नु भयो । उहाँले नेपाल कम्युुनिष्ट पार्टी देशलाई दलाल पुँजीवादवाट देशलाई मुक्ति गरि नेपाली विशेषताको समाजवादको सम्भावना तिर देशलाई लिन चाहेको स्पष्ट पार्नु भयो ।
‘नेपालको प्रमुख समस्या दलाल पुँजीवादको हो, कतिपयले राजतन्त्र फर्काउने सपना बुनेका छन, यो असम्भव कुरा हो’ महासचिव विप्लवले भन्नु भयो, ‘पूर्वराजाले समाजवादी व्यवस्थामा आउन चाहे बरु जनताले स्थान दिन सक्छन, नेपालमा राजावादीले भने जस्तै अव ०४७ र ०१९ साल फर्काउने सपना नदेखे हुन्छ, यहाँ समाजवाद भन्दा अर्को विकल्प छैन ।’
‘‘समाजवाद,दलाल पुँजीवाद,जस्ता शव्द नै सुन्न नचाहनेहरु अहिले बोल्न थालेका छन,राप्रपा,रवी,सिके,कांग्रसे,एमाले सबैले समाजवाद भन्छन’ उहाँले भन्नु भयो, ‘हामी समाजवादको वारे वहस गर्न तयार छौ, आउनुहोस तपाईहरुको समाजवाद र हाम्रो समाजवाद वारे वहस गरौ, देशलाई समाजवाद तिर लगौ, यसका लागि नेकपा संविधान संशोधन गरेर होस वा जनमतसंग्रह गरेर होस, जान तयार छ ।’
उहाँले नेकपाका कारण नेपाली विशेषताको समाजवाद र नेपालको समस्या दलाल पुँजीवाद हो भन्ने कुरा आज सबैले बोल्न थालेकोले स्थापित हुदै गएको ठोकुवा गर्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी राजनीतिक,संगठनात्म,संघर्ष,आर्थिक, सांस्कृतिक क्षेत्रमा मुलत जनतालाई नयाँ विकल्प दिएर स्थापित हुदै गएकाले पार्टी विचार सश्लेषण गर्ने ठाउँमा पुगेको उहाँले दावी गर्नु भयो ।
महासचिव विप्लवले माओवादी एकताको सन्र्दभमा नेकपा माओवादी केन्द्र एकताको वारे एकमत हुन नसकेकाले एकता तत्कालन हुन नसक्ने बताउनु भयो ।
उहाँले माओवादी केन्द्रले उठाएको झण्डा क्रान्तिको झण्डा नभएको जिकिर गर्दै क्रान्तिको झण्डा उठाईरहेको नेकपासंग रुपान्तरण भएर आए मात्र एकता हुनसक्ने बताउनु भयो ।
‘कतिपय माओवादी केन्द्र भित्रका नेताहरु विप्लवले आत्माआलोचना गरेर आए एकता हुन सक्छ भन्छन रे ! आत्माआलोचना कस्ले गर्ने ? क्रान्तिको झण्डा उठाउनेले गर्ने कि ? क्रान्तिको झण्डा छोड्नेले गर्ने ? यो गम्भीर विषय छ, एकता तत्काल सम्भव छैन, तर सहकार्य हुन्छ’ महासचिव विप्लवले भन्नु भयो ।
‘जनताले नेकपावाट ठुलो आसा गरेका छन, हामी जनताप्रति इमान्दार भएर गाउँ गाउँ जानु पर्छ’ महासचिव विप्लवले निर्देशन दिदै भन्नु भयो, ‘एकीकृत जनक्रान्तिको मोर्र्चा सबै ठाउँमा लिनु पर्छ, अब पार्टी ०८४ को निर्वाचनमा पनि जानेछ र तयारी गर्नुहोस ।’
उहाँले क्रान्तिको स्प्रिडलाई एउटा मोर्चाको रुपमा आगामी चुनावमा गएर प्रयोग गर्न नेकपाले चाहेको बताउनु भयो । उहाँले अबको देशको एकमात्र अग्रगामी निकास नेपाली विशेषताको समाजवाद भएकाले समाजवादको लागि जनतामा जान सिंगो कर्णालीलाई जोड दिनु भयो ।
महासचिव विप्लवले कर्णालीको योगदान जनयुद्ध र एकीकृत जनक्रान्तिमा उल्लेखनिय रहेको भन्दै यहाँका जनताले माथिल्लो कर्णाली कुनै पनि हालतमा भारतलाई दिन नहुनेमा जोड दिनु भयो । उहाँले माथिल्लो कर्णाली जलविधुत आयोजना नेपाली जनताको लगानीमा निर्माण गरिनुपर्ने र विधुतपनि नेपालमामै प्रयोग गरिनु पर्ने विचार राख्नु भयो ।
नेकपाका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कर्णजीत सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य नेकपाका सुर्खेत जिल्ला इन्चार्ज एटम सीले दिनु भएको थियो भने संचालन नेकपाका सल्यान जिल्ला इन्चार्ज आधार सीले गर्नु भएको थियो ।