४ माघ, बर्दिया । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले पद,पैसा र कुर्सीका लागि अरु संसदवादी पार्टीहरु देश बेच्न तयार भएको खुलासा गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी बाँके र बर्दियाको संयुक्त राजनीतिक कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सुक्रवार जिल्लाको बाँसगढीमा सम्वोधन गर्दै महासचिव विप्लव सीले पद,पैसा र कुर्सीका लागि अरु संसदवादी पार्टीहरु देश बेच्न तयार भएको खुलासा गर्नु भएको हो ।
उहाँले संसदवादी पार्टीहरुको यस्तो कुकर्म भनेको आफ्नो आमालाई बेचेसर भएको बताउनु भयो । उहाँले भन्नु भयो ‘नेपाललाई कुनै पनि बेला पद,पैसा र कुर्सीका लागि संसदवादी पार्टीका नेताहरु बेच्न तयार छन, एमसीसी गरेका छन, एसपीपी गर्ने षड्यन्त्र गरिरहेका छन, नेपालको सार्वभौम अधिकारलाई विदेशीको हातमा सुम्पने दलालहरुको कुनै पनि भर गर्ने अवस्था छैन ।’
उहाँले नेपालको प्रमुख समस्या भनेको दलाल पुँजीवाद भएको दाबी गर्दै नेपालमा दलाल पुँजीवाद र नेपाली जनता बिचको अन्तरविरोध प्रधान अन्तरविरोध बनेको बताउनु भयो ।
‘नेपालका दलालहरुलाई देश र जनताको कुनै मतलव छैन, उनीहरुलाई केवल पद,पैसा र कुर्सी भए पुग्छ’ महासचिव विप्लवले भन्नु भयो, ‘नेकपाको संघर्षले अमेरिकी साम्राज्यवाद उदाङ्गीएको छ, अमेरिकाले एमसीसी मार्फत नेपालमा सेना ल्याउन चाहान्थ्यो, हाम्रो संघर्षकै कारण रोकिएको छ, संघर्ष अझै जारी छ, भर्खरै लफ्सीफेदीमा हाम्रा १७ जना कार्यकर्ता पक्राउ गरेको छ, यो साम्राज्यवादको दलाल सरकार भएर हो ।’
उहाँले नेपालमा दलाल संसदीय व्यवस्था पूर्ण असफल भएको ठोकुवा गर्दै नेपालमा अवस्था होईन व्यवस्था नै परिवर्तन गर्नुको विकल्प नभएको टिप्पणी गर्नु भयो ।
महासचिव विप्लवले नेपालमा पछाडि फर्केर होईन अगाडि वढेर नेपाली विशेषताको समाजवादको बाटो बाट अग्रगामी निकास खोज्नु पर्ने बताउनु भयो ।
महासचिव विप्लवले नेपाली विशेषताको समाजवादमा जाने जुनसुकै शक्तिसंग सहकार्य गर्न नेकपा तयार भएको भनाई राख्नु भयो ।
उहाँले नेकपा ०८४ को चुनावलाई क्रान्तिको एउटा मोर्चाको रुपमा उपयोग गर्न तयार भएको बताउदै चुनावमा जाने वातावरण बनाउन सरकारलाई तीन बुँदे सहमति कार्यन्वयन गर्न आग्रह गर्नु भयो ।
‘हामी कुनै हिंसात्मक युद्ध चाहादैनौ, शान्तिप्रिय भनेका सबभन्दा कम्युनिष्टहरु हुन, हाम्रो पार्टी शान्तिपूर्ण रुपमा नेपालमा समाजवाद ल्याउन चाहान्छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले यदि सरकारमा हुनेहरुले दमन गरे, जनतालाई अधिकार दिन तयार नभए नेकपा चुप लागेर नवस्ने पनि चेतावनी पनि दिनु भयो ।
उहाँले नेकपाको राजनीतिक कार्यदिशा, कार्यक्रम र योजना मुलत अहिलेसम्म सफल हुदै आएको दावी गर्दै नेकपाको एजेण्डामा देश अगाडि बढेको जिकिर गर्नु भयो ।
नेकपाका स्थायी समिति सदस्य तथा लुम्विनी प्रदेशका इन्चार्ज संतोश सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले दिनु भएको थियो भने संचालन नेकपाका बाँके जिल्ला इन्चार्ज रक्तिम सीले गर्नु भएको थियो । कार्यक्रममा बाँके वर्दिया जिल्लाका करिव २ सय बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम सुरु हुनुपूर्व नेकपाका महासचिव विप्लवलाई थारु पहिचान झल्कीने भेषमा भव्य स्वागत समेत गरिएको थियो ।