News Portal

‘साझा, मर्यादित र श्रमजीवी पत्रकारहरुको संस्था हुनपर्छ’

जनगर्जन संवाददाता२०८१ मंसिर २५
२८ पटक

नेपाल पत्रकार महासंघको निर्वाचन यहि मंसिर २८ गते हुँदैछ । केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति छान्नका लागि एकै दिन निर्वाचन हुन लागेको हो । यो निर्वाचनमा देशभरबाट ९ हजार ४ सय ७१ पत्रकार सक्रिय रुपमा सहभागी हुँदैछन । प्रेस चौतारी र प्रेस युनियनबाट निर्मला शर्मा नेतृत्वको प्यानल र वामपन्थी पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुको साझा प्यानलबाट रमेश विष्ट नेतृत्वको टिम चुनावी मैदानमा छ । रमेश विष्ट नेतृत्वको टिमबाट समावेशी दलित सचिव पदमा पत्रकार वसन्त विकले प्रतिस्पर्धा गर्दैछन । चारजनाको प्रतिस्पर्धा हुँदै गर्दा रमेश विष्ट नेतृत्वको प्यानलबाट दलित सचिव पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवार पत्रकार वसन्त विकसंग चुनावी प्रतिस्पर्धा र जित्ने आधारबारे पत्रकार शेरबहादुर विश्वकर्माले लिएको यो अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ ।
तपाई नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा समावेशी दलित सचिव पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, जित्ने आधार के छ ?
हो, हामी यतिवेला नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा जुटेका छौ । यो निर्वाचन सबै श्रमजीवी पत्रकारहरुको लागि आफ्नो अधिकारको फैसला गर्ने निर्वाचन पनि हो । यसमा मैले समावेशी दलित सचिवमा उम्मेदवारी दिएको छु । महासंघलाई साझा, मर्यादित र श्रमजीवी पत्रकारहरुको पक्षमा काम गर्ने संस्था बनाउनु मेरो प्रमुख लक्ष्य हो । जित्न सकिन्छ भन्ने आत्मविश्वास छ । किनकि हामी जनताको लागि अहोरात्र दुखकष्ट उठाउने र आवश्यक परे जनताको अधिकारको लागि रगत बगाउने र जेल जीवन विताउने साथीहरुको मोर्चा छ । यसमा सक्षम, इमानदार तथा अनुभवी पत्रकारहरुको टिम छ , त्यसैले जित्न सकिन्छ भन्ने कुराको पहिलो आधार यहि हो । यसमा विभिन्न वामपन्थी पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुको साझा प्यानल छ, यो दोस्रो आधार हो । तेस्रो आधार भनेको यस मोर्चाका एजेण्डाहरु सहि छन । आम श्रमजीवी पत्रकारको हक र अधिकारसंग सम्वन्धि एजेण्डा र प्रतिवद्धताहरु छन । त्यसो भएर जित्न सकिन्छ ।
अनि तपाईहरुको यो प्यानलले किन युनियनबाट वागी उम्मेदवार उठेका रमेश विष्टलाई अध्यक्ष बनाएको हो ?

यो आवश्यकता पनि हो । प्रेस युनियन भित्र पनि लोकतान्त्रिक र प्रगतिशील शक्ति छ । त्यो शक्तिलाई अवसरको कमी छ । जसले गर्दा रमेश विष्टको टिम पनि हामीसंग छ । उहाँ यसअघि नेपाल पत्रकार महासंघको वरिठ उपाध्यक्ष पनि हुनुहुन्थ्यो । उहाँले आफ्नो अध्यक्षमा उम्मेदवार दिनु भयो । युनियनले प्रेस चौतारीको निर्मला शर्मालाई अध्यक्षमा उठाएपछि रशेम विष्टसंग साझा मोर्चा भयो । हामी युनियनको एउटा हिस्सा, प्रेस सेन्टर,जनपत्रकार संगठन, लगायतका ८ संघ ÷ संगठनहरु यसमा छौ ।
समावेशी दलित सचिव पदमा विजय हुने अरुको भन्दा फरक तपाईको एजेण्डा के हो ?
म जनपत्रकार संगठनको सचिव हो । हाम्रो संगठनले त महासंघको पूर्नसंरचनाको नै माग गरेको छ । तर पनि त्यसमा प्रयास गर्ने कुरा भइनै रहयो । त्योसंगै महासंघ अलि दलितमैत्री र सहभागितामूलक हुनुपर्यो भन्ने मेरो मुल एजेण्डा हो । कार्यकारी पोष्टमा अझै औचित्यपूर्ण सहभागिता छ । समावेशीमा सिमित गरिएको छ । खुल्ला तथा कार्यकारी पदमा पनि दलित सहभागिताको पहल गर्नेछु । मैले विशेषगरी दलित समुदायका मुद्धा उठाउने छु । उनीहरुको महासंघमा सहभागिता र अवसरको वारे पहल गर्नेछु ।
यत्ति भनेकै आधारमा मतदाताहरुले विश्वास गरी तपाईलाई विजय बनाउलान भन्ने विश्वास के छ ?
हो मलाई पूर्ण विश्वास छ । सक्षम र इमान्दार उम्मेदवार सबैको रोजाइको बिषय हुन्छ नै । त्यसैले पत्रकार साथीहरुले मलाई नै छान्नु हुनेछ ।
दलित समावेशी सचिव पदमा पनि चार –चार जनाको उम्मेदवारी परेको छ, यसलाई मतदाताहरुले को उम्मेदवार सक्षम र पत्रकारिता आन्दोलनमा योगदान गरेको हो भनेर कसरी छुट्याउने ?
हेर्नुहास् ,हरेकले आफ्नो स्तरको योगदान गरेका होलान । मेरो चाहि फरक छ । मेरो पत्रकारिता पनि फरक तरिकाले यहाँसम्म आएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट करिब दुई दशक बढी पत्रकारिता आन्दोलनमा निरन्तर लागेको छु । पत्रकारिताकै शिलशिलामा २०५७ साल जेठ ३१ गते प्रहरीद्धारा पक्राउ परी अमानवीय यातना भोग्दै बल्ल –बल्ल बाँचेर पत्रकारिता गरिरहेको छु । २०५७÷५८ सालदेखि जनादेश तथा सुर्खेत पोष्ट जस्ता राष्ट्रिय पत्रपत्रिकाहरुमा रिपोटिङ् गर्दै आएको थिएँ । २०६० मा जनयुद्धकालिन समयमा अति दुख कष्ट गर्दै ‘जनगणतन्त्र’ रेडियो (डोके रेडियो) मा काम गरी सेति महाकाली तथा भेरी कर्णाली क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छु । गणतन्त्र ल्याउने राजनीतिक महाअभियानमा जनणतन्त्र रेडियोबाट महत्वपूर्ण योगदान दिएको छु ।
सामन्ती निरंकुश राजतन्त्रको अन्त्यको लागि संचालित जनयुद्ध र जनआन्दोलनमा हजारौ सेना प्रहरीको दमन र चुनौतीहरुबाट जोगिदै युद्ध पत्रकारितामा निरन्तर योगदान दिएर समाज सेवा गरेको छु । शान्ति प्रक्रियापछि २०६४ देखि ०७० सालमा सुर्खेतमा रेडियो भेक आवाज, हिमाल एफएम लगाएतका संञ्चार माध्यममा काम गरी पत्रकारिता आन्दोलनमा थप योगदान दिएको छु । यस्तै २०६७ देखि ०६८ सालसम्म सरकारी ‘रेडियो नेपाल’ सुर्खेत प्रशारण केन्द्रमा काम गरी समाज रुपान्तरणको लागि सेवा गरेको छु । २०७२ देखि ०७३ सालसम्म कालिकोटको रेडियो चंखेलीमा समाचार प्रमुख तथा कार्यक्रम संयोजक भएर काम गर्दै समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिएको छु ।
२०७५ सालदेखि ज्वाला खवर डट्कम अनलाईनको सम्पादक, ज्वाला खवर त्रैमासिक पत्रिकाको सम्पादक भएर समाज सेवा गरी पत्रकारिता क्षेत्रमा योगदान दिएको छु । २०८० साल भाद्र देखि ०८१ वैसाखसम्म जनपत्रिका डट्कम अनलाईन पत्रिकामा सह–सम्पादकको भूमिकामा रहि काम गरी समाजसेवामा योगदान गरेको छु । विभिन्न सामाजिक संघ संस्था (जस्तैः राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय सदस्य, जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिव) पदमा रहेर काम गर्दै पत्रकारिता आन्दोलनमा थप योगदान दिइरहेको छु । त्यसो भएर पनि मलाई देशभरका साथीहरुले एकपटक माया गर्नु हुन्छ भन्ने आसा र अपेक्षा गरेको छु ।
अनि तपाईहरु दलित सचिव पदमा चार –चार उम्मेदवार हुनु भन्दा एक जनाको नाममा सहमति गरेको भए हुने थियो नि !
हो तपाईको इच्छा र चाहाना सहि छ । रमेश विष्ट नेतृत्वको प्यानलवाट म आफै उम्मेदवार भए, निर्मला शर्माको प्यानलवाट प्रकाश धौलाकेटी हुनु भयो । अरु भिम विश्वकर्मा र सन्तोस वराईली स्वतन्त्रको रुपमा उठनु भएको छ । यो लोकतान्त्रिक अभ्यास हो । सहमति हुदा राम्रो हो । नभए चुन्न र चुनिन पाउने अधिकार हो । लोकतान्त्रिक अभ्यासमा जानुपर्छ ।
तपाईलाई मतदान गर्न चाहने मतदाताहरुले मतदान कसरी गर्ने ?
यो प्रश्न महत्वपूर्ण छ । मतदान कहाँ गर्ने ? कसरी गर्ने ? भन्ने कुरा पनि विचार पुर्याउनु पर्छ । मेरो लागि मतदान गर्न चाहने साथीहरुले पहिलो कुरा आफ्नो महासंघको सदस्यता कुन जिल्लावाट छ त्यहाँ २८ गते पुग्नु पर्यो । त्यसपछि केन्द्रको मतपत्रको दलित समानुपातिक सचिव पदको शीर्षकको क्र.स. ३ मा बसन्त विक लेखेको लाईनमा ठीक लगाएर मतदान गर्नु पर्यो । यसमा सबै देशभरका पत्रकार साथीहरुलाई एकपटक वसन्त विकलाई मतदान गर्न अपिल गर्दछु ।
अन्तमा के भन्नु हुन्छ ?
यो निर्वाचन पत्रकारहरुको लागि मात्र नभएर नेपाली जनताको लागि पनि निकै चासोको विषय बनेको छ । पत्रकार जगत प्रत्यक्ष जनतासंग जोडिएको जगत हो । जनतका मुद्धा उठाउने र जनचेतना दिने पत्रकार मोर्चा हो । त्यसो भएर पनि यसमा जनताको चासो हुनु अन्यथा होईन । यसर्थ देशभरका पत्रकार साथीहरुले आफ्नो उम्मेदवार छान्दा सक्षम र केही गर्न सक्ने छान्नुपर्छ । मुख्यकुरा परिवर्तनका एजेण्डासंग जोडिएको नेता हुनुपर्छ । त्यो अर्थमा हाम्रो रमेश विष्ट नेतृत्वको प्यानल यसमा सक्षम छ । हामी जनताको आसा अपेक्षा र आम पत्रकार साथीहरुको आसा अपेक्षा पुरा गर्न सक्छौ । हामीलाई मतदान गर्नु होला । मेरो आफ्नै पनि समावेशी दलित सचिव पदमा उम्मेदवारी भएकाले यसलाई कतै पनि नविर्सिएर साथीहरुले यो पटक मलाई एक पटक मतदान गरिदिनु होला । यहि भन्न चाहान्छु ।

महत्वपूर्ण समयकालागि धन्यवाद ।

धन्यवाद हजुरलाई पनि !

प्रतिकृया दिनुहोस्