News Portal

जातीय विभेदको पराकाष्ठाः ‘दलितकै घरमा भान्सा,तर दलितलाईनै भान्सा छुन दिएन

वसन्त वि. क.२०८१ मंसिर २२
१०९ पटक

२२ मंसिर,कालिकोट । दलितकै घरमा भान्सा चलको भएपनि तर दलित समुदायले आफ्नै घरको भान्सा छुन नपाएको घटना बाहिरिएको छ । यो घटना जातीय विभेदको पराकाष्ठा भएको केही व्यक्तिले बताएका छन ।

गत मंसिर १० गते असामयिक निधन भएका कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्वर १ टमट्टेवाडाका हर्के टमट्टाको १३ औ दिनको पुण्यतिथिको शनिवारको भोजमा जातीय विभेदको यो पराकाष्ठा भएको हो ।

हर्के टमट्टाको पुष्यतिथिको भोजमा एउटा दलित समुदायको लागि र अर्को गैरदलित समुदायको लागि गरी दुईवटा भान्सा चलेका थिए । तर दुवै भान्सामा गैरदलित समुदायका व्यक्तिहरु खाना पकाउन लागे । उनीहरुले दलित समुदायका लागि चलाएको भान्सामा छुनसम्म दिएनन् । खाना खुवाउदा पनि भान्सा भन्दा टाढा राखेर दलित समुदायलाई खाना दिएको एक स्थानीयले बताएका छन ।

गैरदलित समुदायका पूर्व वडाअध्यक्ष नमराज संज्याल, माओवादी केन्द्रका नगर इन्चार्ज नगेन्द्र आर्चाय, माओवादी केन्द्रका स्थानीय नेता बल बम (विरजंग),लगायतका व्यक्तिहरुको अगुवाईमा यस्तो कार्य भएको स्थानीयहरुले गुनासो पोखेका छन ।

‘एक्काइसौं शताव्दी विज्ञान र प्रविधिको युग हो मान्छे –मान्छे एउटै हो, छुवाछुत तथा जातीय विभेद गर्न पाईदैन भनेर राजनीतिज्ञ तथा वुद्धिजीवीहरुले सन्देश दिनुको सट्टा आफै जातीय विभेद गर्नु गैर कानुनी काम हो’ केही बुद्धिजीवीहरुले भनेका छन ।

राज्यले समेत जातीय विभेद उन्मुलन गर्न थुपै कानुनी तथा संवैधानिक व्यवस्था गरेको छ । तर समाजमा जनचेतनाको अभावले अझै पनि जातीय विभेदका घटनाहरु बढिरहेका छन । जातीय विभेद तथा छुवाछुत गर्ने व्यक्तिहरु माथि कडा कानुनी सजायको व्यवस्था नहुदासम्म यस्ता अपराधिक पराकाष्ठाहरु भइनै रहने नेकपाका नेता निर्देशन सीले बताएका छन । उनले विभेद गर्नेमाथि कडा कानुनी कार्वाही हुनुपर्ने माग गरेका छन ।
‘दलित समुदायको लागि संचालन गरिएको भान्सामा पनि गैरदलित समुदायका व्यक्तिहरुले आफै खाना पकाए, दलितहरुले भान्सामा नछोउन भनेर होला, यो सारै अन्याय भयो, मान्छे भएर पनि यति विभेद गर्न पाईन्छ’ एक स्थानीयले भने
गैर दलित समुदायको भान्सामा त गैरदलित कै व्यक्तिले खाना पकाएर खाने कुरा भएकै थियो तर दलित समुदायको भान्सामा पनि गैरदलितहरुकै व्यक्तिले खाना पकाए, दलित समुदायलाई भान्सामा छुन दिएनन, यो कस्तो खालको नियम हो ? यो जस्तो जातीय विभेदको पराकाष्ठा अरु के हुन सक्छ ? ती स्थानीयले नाम नभन्ने शर्तमा गुनासो पोखे ।

स्थानीय बुद्धिजीवी तथा शिक्षक प्रभुलाल न्यौपानेले कानुनी रुपमा यस्तो काम जाहेज नभएको भन्दै जो सुकै भएपनि कानुनी कार्वाही हुनसक्ने बताए । उनले भने ‘आजको समस्या जे जस्तो भयो, यो सहि भएन यसको वारेमा म माफी माग्छु ।’ कानुन कार्यन्वयनमा भएको फितलोका कारण यो जिल्लामा बर्सेनि जातीय विभेदका घटनाहरु बााहिरिने गरेका छन ।

प्रतिकृया दिनुहोस्