


हेटौंडा । बागमती प्रदेशसभाको सातौं अधिवेशन सुरु भएर पनि प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेको अवस्थामा सभामुख सानुकुमार श्रेष्ठले दलीय सहमति विपरीत प्रदेशसभा बैठक लगातार स्थगित गर्दै आएका हुन् ।
फागुन ५ गते २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सभामुख श्रेष्ठले विशेष कारण देखाउँदै स्थगित गरे । उनले बैठक बस्ने भनिएकै दिन बिहान ६ः३५ बजे सूचना टाँसेर प्रदेशसभा सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी गराएका थिए ।
विशेष कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गरिएकोे यो दोस्रो पटक हो । यसअघि माघ १९ गतेका लागि बोलाइएको प्रदेशसभा बैठक पनि सभामुख श्रेष्ठले माघ १८ गते राति नै सूचना टाँसेर फागुन ५ गतेसम्मका लागि स्थगित गरेका थिए भने प्रदेशसभाका सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी एसएमएसमार्फत पठाएका थिए
बैठक स्थगित भएपश्चातः नेकपाको प्रचण्ड–माधव पक्षका बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले उपसभामुख राधिका तामाङसँग भेट गरी सभामुख श्रेष्ठले सरकारको दबाब र प्रभावमा परी संसद बैठक स्थगित गरेको भन्दै तत्काल बैठक बोलाउन माग गरेका थिए । उनीहरुले उपसभामुख समक्ष विरोधपत्र पनि बुझाए ।
गत पुस १० गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा दुई ध्रुवमा विभाजित भएसँगै मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकै दिन बागमती प्रदेशका ३ जना मन्त्रीले सामुहिक राजीनामासमेत दिएका थिए ।
