


काठमाडौं । नेपाली काँग्रेसले बैतडीको डिलासैनी घटनाको निन्दा गर्दै नेकपा केपी ओली समूहलाई सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ । बैतडीको डिलासैनीमा काँग्रेसको कार्यक्रम भइरहेकोे समयमा मंगलबार अपरान्ह ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै काँग्रेस प्रवक्ता शर्माले मंगलबार विज्ञप्ति जारी गरी डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरे । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको काँग्रेसको ठहर छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली समूहले ढुंगामुढा गरेको थियो ।
ओली समूहको उक्त कार्यबाट काँग्रेस नेता साउदसहित केही कार्यकर्ता घाइते भएका छन् । ओली समूह केही सवारी साधनमा तोडफोड समेत गरेको शर्माले बताए । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण कार्यकर्ताले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो ।
