
काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट पारित गरिएको छ। नगरसभाबाट पारित उक्त बजेटमा आन्तरिक आय र बैँक मौज्दात गरी करिब २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरिने अनुमान गरिएको छ।
महानगरले प्रस्तुत गरेको बजेटमा सडक, ढल, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, डिजिटल सेवा विस्तार र सुकुम्बासी व्यवस्थापनजस्ता विषयहरूलाई प्राथमिकता दिइएको छ। नगरप्रमुख बालेन्द्र साह (बालेन) ले यो बजेटलाई “जनमुखी, समावेशी र कार्यान्वयनमुखी” भन्दै सहर विकासको नयाँ बाटो खोल्ने दाबी गरेका छन्।
बजेटमा स्थानीय कर, सेवा शुल्क, जरिवाना र बैँक मौज्दात प्रमुख स्रोतको रूपमा उल्लेख छन्। बाँकी रकम प्रदेश तथा संघीय सरकारको अनुदान, साझेदारी कार्यक्रम र वैदेशिक सहयोगबाट जुटाइनेछ।
महानगरले स्मार्ट सिटी निर्माण, सार्वजनिक सेवा डिजिटलाइजेसन, सामुदायिक विद्यालय सुधार र स्वास्थ्य केन्द्र सुदृढीकरणमार्फत सहरलाई व्यवस्थित र प्रगतिशील बनाउने योजना अघि सारेको छ।
