News Portal

  • आज तामाङ समुदायको सोनाम अर्थात ग्याल्बो ल्होसारपर्व मनाइँदै

    जनगर्जन संवाददाता
    १०५४ पटक

    काठमाडौं ।

    नेपालका तामाङ समुदायले आज सोनाम लोसार पर्व मनाउँदै छन् । यस चाडलाई ल्होछार, ल्होसार र लोसार नामले पुकार्ने गरिन्छ । पश्चिमी मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझलाई विदा गर्दै नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै लोसार चाड पुरानो साललाई विदा गर्दै नयाँ साललाई स्वागत गर्ने एक पर्व हो ।

    लोसारमा धर्मगुरु र गुम्बाहरुको दर्शन गर्ने, मान्यजनहरुबाट आर्शिवाद ग्रहण गर्ने, परिवारमा आफू भन्दा सानालाई आर्शिवाद दिने, नयाँ लुगा लगाउने, मिठो मिठो खाने परिकारहरु खाने र शुभकामना आदन प्रदान गर्ने गरिन्छ । नेपालमा हालसम्म तोलो (तमु) ल्होच्छार, सोनाम ल्होसार र ग्याल्पो लोसार गरी तीन प्रकारको लोसार मनाइने गरेको पाइन्छ ।

    तोलो (तमु) ल्होच्छार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पौष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाइएको पाइन्छ । तोलो तमु ल्होच्छार गुरुङ्ग र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाउने गर्छन् ।

    सोनाम ल्होसार प्रत्येक वर्ष मञ्जुश्री पात्रोको बाह्रौं महिनाको पहिलो दिनबाट शुरु हुन्छ । कालचक्र ज्योतिष शास्त्रमा माघे संक्रान्तिबाट नयाँ खेतीपातीको कार्य शुरु हुने भएकोले किसानहरुले यसलाई नयाँ साल (ल्होसार)को रुपमा मनाउँदै आएको विश्वास गरिन्छ । त्यसैले यसलाई किसानहरुको ल्होसार पनि भन्ने गरिन्छ । सोनाम ल्होसार तामाङ र ह्योल्मो समुदायहरुमा मनाइन्छ ।

    प्रतिकृया दिनुहोस्