राष्ट्रपतिका विषयमा बोलेकै भरमा रामकुमारी झाँक्रीलाई राज्यद्रोहको मुद्दा लगाउने तयारी गरेको भन्दै उनले आफूले पनि राष्ट्रपतिका विषयमा बोलेको बताए । नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा थापाले भने, ‘राष्ट्रपति भनेको व्यक्ति होइन संस्था हो । उहाँ (विद्या भण्डारी) ले संस्थाको गरिमा राख्न सक्नुभएन । संसद् पुनर्स्थापना भएपछि राष्ट्रपतिलाई घर फिर्ता पठाउने हो ।’
‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ’ उनले अघि भने, ‘महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’
उनले २०६२/२०६३ को जनआन्दोलनका क्रममा आफू लगायतका विद्यार्थी नेताहरुमाथि राज्यद्रोहको मुद्दा लागेको क्षण सम्झिाए ।
राजाविरुद्ध अमर्यादित नारा लगायो भनेर आफूमाथि मुद्दा लागेको भन्दै उनले भने, ‘मेरो मुद्दामाथि बहस हुँदै गर्दा नेपाल विद्यार्थी संघका साथीहरु अदालत परिसरमा आएर त्यही नारा लगाए, जुन नारा लगाउँदा ममाथि मुद्दा लागेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान एकछिन अदालतमा मौनता चाहन्छु । अदालतमा सन्नाटा छायो, तलबाट नारा लागिरहेको थियो । मेरो वकिलले भन्नुभयो श्रीमान गगन थापालाई राजद्रोही भन्ने हो भने यी सबैलाई राजद्रोही भन्नुपर्छ ।’
‘त्यसो भन्ने वलिक को हुनुहुन्थ्यो थाहा छ ? सुवास नेम्वाङ हुनुहुन्थ्यो । आज बालुवाटारको दुलोमा लुकेर बस्नुभएको छ’ थापाले अघि भने, ‘श्रीमान्, तपाई बदलिनु भयो होला, हामी बदलिएका छैनौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित पार्ने नयाँ नियम ल्याउन लागेको बताउँदै उनले त्यसको पनि विरोध गर्ने बताए ।