


माघ २४ वैतडी । विद्यालयबाट घर फर्कने क्रममा हराएकी बैतडी दोगडा–केदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गरिएको दाबी गरिएको छ । बिहीबार साँझ घरनजिकैको लखलेक जंगलमा उनको शव भेटिए पछि विद्यार्थीहरुले हिजो प्रदर्शन गर्दै बलात्कार पछि हत्या गरिएको दाबी गरेका छन् । उनी कक्षा १२ की विद्यार्थी थिईन् ।
आन्दोलित विद्यार्थीले दिनभर बैतडीको महाकाली लोकमार्ग पनि अवरुद्ध पारे । आन्दोलनरत विद्यार्थीले किशोरीको बलात्कारपछि हत्या गरिएको भन्दै दोषीलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्नु पर्ने माग गरे ।
बुधबार विद्यालयबाट घर फर्कने क्रममा भागरथी घर नपुग्दै बेपत्ता भएकी थिइन् । घटनास्थल पुगेर जिल्ला प्रहरी, प्रदेश प्रहरी र सिआईबीको टोलीले सबै कोणबाट अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको छ । साथमा प्राविधिक टोली पनि परिचालन गरिएको छ ।
चडेपानीमा रहेको श्रमिक माविमा कक्षा १२ मा अध्ययनरत भागरथी बुधबार विद्यालयबाट नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका थिए । सम्पर्कविहीन भएको एक दिनपछि भट्टको मृत शरीर घरनजिकैको जंगलमा फेला परेको थियो । किशोरी भट्टको बलत्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।
