News Portal

  • गुल्मी जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत, नामलिस्ट सहित

    जनगर्जन संवाददाता
    ५८३ पटक

    बुटवल। गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी , ३० वर्षका बसन्त दर्लामी , ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको छ ।

    दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

    इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे ७ बजेतिर दुर्घटना भएको थियो । प्रहरीले जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

    यसैबीच सिरहामा सवारी दुर्घटना हुँदा बिहीबार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत पदमपुरमा बिहीबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका–११ भलुवाहीका २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई एम्बुलेन्समा सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्