News Portal

  • आज २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

    जनगर्जन संवाददाता
    ४१० पटक

    २ माघ, काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज मनाइँदै छ ।

    राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिएको छ ।
    आज बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प्रमुख आतिथिको रुपमा सहभागी हुने पूर्व निर्धारित कार्यक्रम रहेको छ ।

    कोरोना भाइरसका कारण अनलाइन प्रविधिमार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु हुनेछन् ।

    भूकम्पीय सुरक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रमहरु सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधिमार्फत् आयोजना गरिने बताइएको छ ।

    राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान-प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्