


२४ पुस, धनगढी । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिएका छन् ।धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘तपाईंहरुले गाली गर्दै हिँडेका पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नुभएको होला । तपाईंहरु प्रभावित हुन आवश्यकता छैन ।’
केही मान्छेहरुले हामी हटेपछि पार्टी कसरी चल्छ भन्ने सोचेको होला भन्दै उनले २/४ जना मान्छे पिलो निचोरिए जसरी निचोरिँदैमा वजन नघट्ने दोहोर्याए । ‘तीन करोड मान्छेमा कति जना गए रे, तपाईंहरुले सुन्नु भएको होला । उहाँहरु २६५ कि कति भन्नुहुन्छ,’ ओलीले अघि भने, ‘अनि के भयो त ? नुहाउँदा पनि २/४ वटा केस झरेर जान्छ । अनि के भयो त ?’
०५४ सालमा त्यस्तै भएको भन्दै उनले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिए ।
अर्का समूहमा लागेका नेताहरुले छोरी, बुहारी, सम्धी र आफन्त मात्र हेरेको भन्दै उनले भने, ‘आफन्त नभएको कोही हुँदैन, मेरो पनि आफन्त होलान् । मेरो कोही आफन्त मैले टपक्क टिप्दै राख्दै गरेको देखाइदिनुस् । म नेताहरुलाई भन्न चाहन्छु, तपाईंहरुले जनताका अगाडि उभिएर मलाई यसैगरी भन्नुस् । म तपाईंहरु हरेकको एक दर्जन अवसरै अवसरको तर मारेको देखाइदिन्छु ।’
