News Portal

  • प्रचण्ड र माधव नेपाललाई मुलपार्टीमै फिर्ता आउन : विष्णु पौडेलको आग्रह

    जनगर्जन संवाददाता
    ८० पटक

    १५ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् ।

    नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए । तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले प्रधानमन्त्री ओली विरुद्ध पेश गरेको आरोपपत्र फिर्ता लिनुपर्ने उनको भनाइ छ ।

    अहिलेपनि हामीले ठाउँ राखेका छौं, पार्टी एकता जोगाउन कोशिस गरेका छौं । उहाँहरुले गैर वैधानिक बैठक आयोजना गरेर प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाएको कुरा गर्नुभएको छ । प्रचण्डजीलाई हामीले अध्यक्षको कार्यकारी भूमिकाबाट मात्रै हटाएका छौं, अध्यक्षबाट हटाएका छैनौं, माधव नेपाल वरिष्ठ नेता नै हुनुहुन्छ’ उनले भने ।

    पुस ५ गते झुक्याएर अविश्वासको प्रस्ताव दर्ता गर्ने र सरकारलाई अपदस्त गरेर सत्ता कब्जा गर्ने गलत चेष्टा भएकोले नै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनतामा जाने निर्णय गरेको पौडेलले बताए ।

    ‘प्रधानमन्त्रीले त्यसलाई प्रतिवाद गर्ने निश्चय गर्नुभयो र संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्नुभयो । ताजा जनादेशमा जाने निर्णय राष्ट्रिय राजनीतिलाई नयाँ दिशा प्रदान गरेको छ । त्यसो गरेका थिएनौं, आत्मसर्मपण गरेका थियौं भने मुलुक अनैतिकता, अराजकता र उछृङ्खलता तर्फ जाने खतरा थियो’ उनले भने ।

    संसद विघटन गरेर निर्वाचनमा जाने निर्णय संविधानसम्मत रहेको पनि पौडेलले जिकिर गरे । ‘संधिवानको मर्म, भावना र अन्तर्यहरुलाई विश्लेषण गर्दा निर्वाचनमा जान्छ भनेर भन्ने निष्कर्षमा पुग्न सक्छौं’ उनी भन्छन् । प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने उनको जिकिर छ ।

    प्रतिकृया दिनुहोस्