News Portal

  • पक्राउ पुर्जी जारी गरेपछि नेकपाले दियो कडा चेतावनी

    जनगर्जन संवाददाता
    ३०३ पटक

    काठमाडौं : नेेेकपाले आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राऊ पुर्जीको सूचना प्रकाशित गरेपछि कडा प्रतिक्रिया जनाएको छ । राज्यको यस किसिमको गतिविधिप्रति आपत्ति र खेद प्रकट गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले आजै प्रेस विज्ञप्ति जारी गरेको हो ।
    नेपाल कम्युनिष्ट पार्टीले ३ बुँदे सहमतिलाई इमान्दारपूर्वक कार्यान्वयन गरिरहेको अवस्थामा सरकारले उक्त सहमति बमोजिम थुनामा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई रिहा गर्नुको साटो उल्टै केन्द्रीय नेतृत्व र कार्यकर्तालाई  पक्राउ पुर्जी जारी गर्नु तीन बुँदे सहमतिको उल्लँघन, शान्ति प्रक्रिया भाँड्ने तथा देशलाई द्वन्द्वतर्फ धकेल्ने हर्कत भएको र उक्त कार्य सर्वाधिक षडयन्त्रकारी,खेदजनक र आपत्तिजनक रहेको बताएको छ ।
    राज्यका यस किसिमका कार्य नरोके आपनो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी दिदै प्रकाण्डले भनेका छन्, ‘त्यसबाट पैदा हुने गम्भीर परिस्थितिको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनेछन्।’

    विज्ञप्तिको पूर्ण विवरण

    हाम्रो पार्टी र नेता कार्यकर्ता विरुद्ध दलाल पूँजीवादी राज्यको ललितपुर जिल्ला अदालतले आज जारी गरेको कथित पक्राउ पुर्जीबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

    १) नेपाल कम्युनिष्ट पार्टी नेपालको दलाल पूँजीवादी राज्य व्यवस्था र त्यसका सञ्चालकहरुले देश र नेपाली जनतामाथि थोपरेको राष्ट्रघात र जनघातका विरुद्ध आमूल परिवर्तनको लागि पुर्नगठित भएको र एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको पार्टी हो । राष्ट्रिय मुक्ति र जनताको मुद्दामा अग्रमोर्चामा रहेर लडेकै कारण ओली प्रचण्ड नेतृत्वकोे नेकपा (नेकपा) को ओली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएर दमन गर्यो । प्रतिबन्ध र दमनको दुई वर्षको दृढतापूर्वक प्रतिरोध र देशमा सृजना भएको विकराल अवस्थालाई जिम्मेवारपूर्ण ढंगले लिएर ओली सरकारसँग पार्टीले वार्ता गर्यो र तीनबुँदे सहमति भयो । दलाल संसदीय व्यवस्था र ओली सरकारले राष्ट्र र नेपाली जनताको जीवनमा पैदा गरेको संकटपूर्ण अवस्था जुन राष्ट्रिय स्वाधीनता, जनअधिकारका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र विकास लगायतसंग सम्बन्धित मुद्दाहरू थिए । जसको समाधानको निम्ति वार्ता र सहमति गरिएको थियो । यसका निम्ति वार्ता एवं सम्वादको माध्यम र शान्तिपूर्ण तरिका तय गरियो ।

    आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरसः लागु गरिराखेको छ । ३ बुँदे सहमतिपछि पाँच महिनासम्म चलेको ओली सरकारले यसको इमान्दारिताका साथ लागू गरेन । गठन भएको तेस्रो दिनमा वार्ता भई तीन बुँदे सहमति लागु गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकार पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागु गरिराखेको छैन । देश र जनताको मुद्दामा प्रवेश गर्ने कुरा त छाडौँ । अहिलेसम्म हाम्रो पार्टीका राजबन्दीहरुलाई समेत रिहा गरेको छैन । पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पुर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरु झुट्टा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीनबुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रष्ट हुन्छ । राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको छ । जुन सर्वाधिक षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक छ ।

    २) आजका मितिसम्म आउँदा देश र नेपाली जनताको अवस्था भयावह छ । हाम्रो देशमाथिका इतिहासका साम्राज्यवादी हस्तक्षेपलाई उछिन्दै IPS, MCC र SPP मार्फत अमेरिकी साम्राज्यवादले गरिरहेको हस्तक्षेप देशको स्वाधीनता र सार्वभौमिकताको निम्ति भयाभह एवं घातक छ । राजनीतिक क्षेत्र दलाली, आत्मसमपर्ण, राष्ट्रघात र सत्ताको घिनलाग्दो खेलद्धारा ग्रस्त छ । व्यापार घाटा, भ्रष्टाचार, कमिशन र कालोबजारले देशको अर्थव्यवस्था टाट उल्टिएको छ । महंगीको भारले नेपाली जनताको दैनिक जीवन चरम कष्टकर छ । सामाजिक विभेद, हत्या, हिंसा र असुरक्षाले नेपाली जनता आक्रान्त छ । चरम बेरोजगारीले जनता दैनिक प्रताडीत छन । देश र जनताका विद्यमान यावत समस्याका विरुद्ध संघर्ष गरिरहेको हाम्रो पार्टी र नेतृत्वका विरुद्ध गरिएको आजको षड्यन्त्रले अन्तत्वगत्वा अमेरिकी साम्राज्यवादी हस्तक्षेप, दलाल पुँजीपति तथा सामाजिक दलाल पुँजीपतिको आत्मसमर्पण र जनविरोधी चरित्रलाई नै मलजल पुर्याएको छ । यसको प्रतिवाद गर्न र जनप्रतिरोधमा उत्रिन देशको वौद्धिक जगत, मानवअधिकार एवं कानुनी क्षेत्र, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी, बामपन्थी, क्रान्तिकारी शक्ति, पत्रकार जगत र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

    ३) हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौ । यसबाट भावी निम्तिने गंभिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ । राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशिल प्रक्रियामा छ ।

    प्रतिकृया दिनुहोस्