News Portal

  • नेकपाका महासचिव विप्लवलाई लामाको चिठी

    लेखक बिबेक लामा
    ६०१ पटक

    महासचिव कमरेड, संग्रामी अभिवादन !

          महासचिव कमरेड, आरामै भनौ के आराम भनौ, बिरामी भनौ दुख बिमार केहि छैन । भौतिक शरीर आराम नै भएपनि मन भित्र अथाह पिडा हुन्छ । त्यो मन भित्रको पीडालाई उपचार गर्ने डाक्टर सायद संसारमा छैन होला । त्यो मन भित्रको पीडालाई शान्त पार्न सक्ने डाक्टर तपाई मात्र देखेको हुँ । खैर अहिलेसम्म भौतिक शरीर ठिकै आरामै छु ।

    त्यहाँ तपाईलाई पनि आरामै होला र आरामै चाहन्छु साथै सदासदाको लागि आरामको कामना गर्दछु । भन्नु पर्ने विषय त खासै थिएन । राष्ट्रिय राजनीति देखि अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा त हामी सामान्य नागरिक भन्दा तपाई नै बढी विज्ञ र जानकार हुनुहुन्छ । यहाँ मैले राख्न खोजेको कुरा र भन्न खोजेको कुरा भाषागत रुपमा नमिल्न सक्छ, लेखन शैली नमिल्न सक्छ, शब्दहरु तलमाथि हुनसक्छ, कुनै शब्दको अर्थ नखुल्न सक्छ । यसमा सुरुमै क्षमा याचना गर्न चाहन्छु । यद्यपि म कुनै लेखक, साहित्यकार वा पत्रकार भित्रको हैसियतमा परेन ।

    महासचिव कमरेड, नेपालको परिवर्तनशील आन्दोलन, वर्गीय आन्दोलन र कम्युनिस्ट आन्दोलनमा जर्मनको कार्ल मार्क्स, रुसको लेनिन र स्टालिन, चीनको माओ, क्युवाको फिडेल क्यास्ट्रो, भियतनामको होची मिन्हको भन्दा तपाईको योगदान कम छैन | निरङ्कुश पन्च्यायती व्यवस्था विरुद्ध धावा बोल्ने देखि लिएर २०५२ सालबाट सुरु भएको महान जनयुद्धमा तपाईको भूमिका र योगदानलाई इतिहासले भुल्ने छैन | जनयुद्ध कालमा तपाईको नेतृत्वमा भएको फौजी आक्रमणले सफलता हासिल गर्दै दुश्मनहरु हायलकायल भएको, दुश्मन प्रति घृणा र आक्रोश, क्रान्तिप्रति बफादार बन्दै गएपछि पार्टी भित्रको अवसरवादीहरुले तपाई माथि घेराबन्दी गर्दै असफल पार्न खोजेको इतिहास भेट्न सकिन्छ | तपाई यस्तो अवसरवादीहरुको कुनै मतलब नराखी क्रान्तिलाई मुख्य र अन्य झिनामसिना कुरालाई सहायक बनाई आफ्नो कार्यलाई निरन्तरता दिँदै अगाडी बढेको कुरा सबैमा जग जाहेर नै छ |

    महासचिव कमरेड, जब जनयुद्धले सफलता हासिल गर्दै गर्दा विश्वभरिका श्रमजीवीजनताको आशाको केन्द्र बन्दै गर्दा देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले जनयुद्धको नेतृत्व गर्ने नेतृत्वलाई डर, त्रास र लोभ देखाई आत्मसमर्पण गर्न लगाई बिदेशीको इशारामा १२ बुँदे दिल्ली सम्झौता गरियो र जनयुद्धको सिमित प्राप्त अधिकारहरु गुम्ने खतरा बढ्यो | यसमा तपाई लगायत क्रान्तिकारी शक्तिहरु नेतृत्वलाई खबरदारी गरिरहनु भयो | जब पार्टी शान्ति प्रक्रियाको नाममा बाहिर आयो, अन्तरिम सरकारमा सहभागी भयो त्यस बाट सुरु भयो प्रतिक्रान्तिको सुरुवात | अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा बाह्य दुश्मनबाट प्रतिक्रान्ति भएको देखिन्छ तर, नेपालमा जनयुद्धको नेतृत्व गरेर आएका नेतृत्वबाट नै प्रतिक्रान्तिको नेतृत्व गरेको देखिन्छ | यस्तो इतिहास सायद विरलै भेटिन्छ | यी सबै विषयमा तपाईको असहमति, खबरदारी, सकेसम्म नेतृत्वलाई सहि मार्गमा ल्याउन सकिन्छ कि भनेर कडा मेहनत गर्दैगर्दा नेतृत्व सुध्रने नदेखेपछि ६९ साल असारमा प्रचण्ड बाबुराम मण्डलीबाट सम्बन्ध बिच्छेद गर्दै किरण कमरेडको नेतृत्वमा क्रान्तिकारी पार्टीको निर्माण भयो, यो पार्टी निर्माण गर्नुमा तपाईको मुख्य भूमिका रहेको देखिन्छ | कमरेड किरणको नेतृत्वमा पार्टी त बन्यो तर क्रान्तिकारी पार्टीको भूमिका, क्रान्तिकारी पार्टीले निभाउनु पर्ने जिम्मेवारी फित्तलो भएपछी तपाई त्यहाँ असन्तुष्ट हुनुभयो | यहाँ भित्र बसेर वादविवाद गरेर समयको वर्वाद गर्नुभन्दा आ आफ्नै बाटो लाग्ने भन्दै तपाईको आफ्नै नेतृत्वमा नयाँ कार्यदिशा सहित २०७१ मंसिरमा क्रान्तिकारी पार्टी बन्यो | आम क्रान्तिकारी युवाहरु तपाईले निर्माण गरेको पार्टीमा आवद्व भए | तपाईको साहस, तपाईको बिचार र तपाईको क्रान्तिप्रतिको इमान्दारिताबाट म पनि अछुतो रहन सकेन | भलै म त्यतिबेला रोजीरोटीको लागि खाडीमा थिए | खाडी मै भएपनि त्यहाँ रहेको संगठन पुनर्गठन गर्न मुख्य भूमिका खेले | पार्टीलाई भौतिक सहयोग गर्न नसकेपनि आर्थिक, नैतिक र वैचारिक सहयोग पुग्ने हुँदा संगठन पुनर्गठन गर्नु अनिवार्य थियो | र पार्टीलाई दाङको राष्ट्रिय सम्मेलन र २०७२ को भूकम्प पिडितलाई पार्टी बाट गर्ने सहयोगमा सहयोग पुगोस भनेर आर्थिक सहयोग पनि गरेकै हो | त्यतिबेला मध्यपूर्वमा रहेको संगठनमा ठुलो भूइंचालो नै गयो | किनभने देशभित्र रहेका र देश बाहिर रहेको युवाहरु तपाई प्रति नै आशा र भरोशा थियो |

    कमरेड महासचिव, यो बिषयमा म भन्दा धेरै तपाई नै बढी जानकार हुनुहुन्छ | जब तपाईले नेतृत्व गरेको पार्टी लोकप्रिय बन्दै गर्दा, तपाईले दिएको प्रशिक्षण, खुल्ला प्रशिक्षण, पार्टीको सर्कुलरले मलाई विदेश बस्न एकरति मन लागेन | किनभने तपाईले बिदेशमा भएका सबै नौजवान युवाहरु लाई आफ्नै देश आएर आफ्नै देश बनाउन आह्वान गर्नु भएको थियो | तपाईले व्यक्त गरेको शब्दबाट प्रभाव भएर म पनि आफ्नै देश फर्के | फर्केपछि पार्टीसंग सम्पर्क गर्ने धेरै सुत्र प्रयोग गरे, केहि सिप लागेन | यहाँ मेरो आफ्नै सहोदर भाई जितेन्द्र कमरेड माइला लामा संग व्यक्तिगत रुपमा जोडेको थियो, त्यहि भाइ मार्फत कमरेड माइला संग भेट त भयो खासै चासो दिनुभएन | बल्ल बल्ल जिल्लाकै केहि पुराना कमरेडहरु संग भेट भयो, कमरेड गुन्जन लगायतका कमरेडहरूसंग भेट भएपछी मेरो विषयमा कुरा राखे | कमरेड अभिलाष जल्दोबल्दो युवा नेतृत्व थियो | कमरेड इन्द्र श्रेष्ठ बैशाख २९ गतेको भूकम्पले घाइते भई आराम गरिरहनु भएको थियो | त्यतिबेला कमरेड तिर्थ कार्की सेक्रेटरी हुनुहुँदो रहेछ | जिल्लाको बैठकमा बोलाउनु भयो | जिल्लाको बैठकले मलाई जिल्ला कमिटीमा राख्ने प्रस्ताव भयो | जीवनमा पहिलो पटक त्यतिबिघ्न खुसि भएको होला जतिबेला म क्रान्तिकारी पार्टीको जिल्लाको नेतृत्वदायी स्थानमा पुगेको भनेर |

    महासचिव कमरेड, दिनहरु बित्दै गयो, दिनरात नभनी पार्टीको काममा र जनताको प्रत्यक्ष समस्यामा जोडीदै काम गर्दै गए | पार्टीको आठौ महाधिवेशनको तयारी हुँदै थियो | पार्टी सदस्य नवीकरण संगै गाउँ, इलाका भेला गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने थियो | जिल्ला सम्मेलन गर्नुपर्ने चटारो र महाधिवेशनलाई सफल पार्न जिल्लाको भूमिकालाई मध्ये नजर गर्दै कमरेड सन्तोष कोइरालालाई जिल्ला सेक्रेटरी तोकेर पठाउनु भएको रहेछ | जिल्लामा भएका पुराना साथीहरु खिचातानीको कारण फिल्डमा त्यति नखटेको देखिन्थ्यो | जब जिल्ला सम्मेलन सुरु भयो सबै पुराना कमरेडहरू आउनु भयो र आ आफ्नो समस्या राख्नु भयो | महाधिवेशन प्रतिनिधि छनौटमा पनि तीव्र असन्तुष्टि देखियो र स्वाभाविक पनि थियो | जिन्दगि भर पार्टीको लागि हिड्ने तर पार्टीको उच्च श्रेणी महाधिवेशनमा भाग लिन नपाउने भएपछी असन्तुष्टि व्यक्त हुनु नराम्रो कुरा थिएन | फेरी पार्टीको नाम जप्ने घरमै बस्ने अनि प्रतिनिधिको दावेदार बन्नु पनि कम्युनिस्टको बिधान भित्र नपर्ला कि भन्ने हो |

    महासचिव कमरेड, लेख्दै जाँदा अलि लामो नै भयो, यो लेख तपाई सम्म आइपुग्यो भने पांच मिनेट झर्को नमानी अध्ययन गर्नुहोला | आठौ महाधिवेशन २०७३ फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर दुश्मनको मुटु मानिने काठमाण्डौंको खुल्लामंचमा उद्घाटन गरि बन्दसत्र जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङ्गमा पार्टीकै लगानीमा निर्माण भएको सहिद स्मृति हलमा सम्पन्न हुन गैरहेको थियो | त्यो महाधिवेशनमा सहभागी हुने भाग्यशाली कार्यकर्ता मध्य म पनि एक थिए | सायद त्यस्तो अवसर फर्केर आउदैन होला | महाधिवेशनले पार्टीको पछाडी राखेको माओवादी हटाउने प्रस्ताव आयो सबै कार्यकर्ता भावनाले आँखाभरी आसु पार्दै प्रस्तावलाई सर्वसहतिले पारित गर्ने निर्णय गरियो | महाधिवेशन भव्यरुपमा चल्दै थियो, प्रतिक्रियावादी सरकारले स्थानीय निर्वाचनको घोषणा गर्यो र महाधिवेशन स्थल बाट नै निर्वाचन गर्नुको औचित्य छैन र यो निर्वाचनले जनताको समस्या समाधान गर्नुको सट्टा झन् समस्या थोपर्ने भएकोले यो निर्वाचन खारेज गर्नुपर्छ भन्दै तपाईको हस्ताक्षर भएको धक्कामुलक विज्ञप्तिले दुश्मनको किल्लामा ९ रेक्टरको भुइचालो गयो | त्यतिकै त हाम्रो पार्टी माथि दुश्मनले दमनको नीति अपनाएको थियो झन् निर्वाचन नै खारेज हुनुपर्छ भनेपछि झन् निगरानी बढाउने नै भयो | कडा निगरानीको बीचबाट आठौ महाधिवेशन सम्पन्न भयो |

    आदरणीय महासचिव कमरेड, रोल्पाबाट फर्केपछि कथित निर्वाचन खारेज अभियानमा जोडतोडका साथ लाग्यौ | पूर्ण रुपमा खारेज गर्न नसकेता पनि हाम्रो क्षमतालाई देखाई दियौ | कथित निर्वाचन खारेज अभियानमा लाग्दा राज्यबाट बम विस्फोटको आरोपमा देशभरी धरपकड सुरु गर्यो | रामेछापबाट मलाई पनि गिरफ्तार गरि हप्तादिनसम्म भोकाएका उडुसलाई रगत चुसायो | हाम्रो पार्टीको काम कारबाही देखेर दुश्मनहरु सलबलाएका थिए भने शोषितपीडित जनताले साथ दिइरहेको थियो | तपाई प्रति आशा भरोसा गरेको थियो | पार्टीको लोकप्रियता बढ्दै गएपछि र देशको मुख्य मुख्य धमिरा माथि धावा बोल्न थालेपछि अत्तालिएका प्रतिक्रियावादी दलाल सरकारले २०७५ फागुन २९ गते पार्टीमाथि प्रतिबन्ध लगायो | प्रतिबन्धको कुनै पर्वाह नगरी पार्टी आफ्नो काममा लागि रह्यो | देश जनताको समस्या बोल्दै गर्दा झन् पार्टीको उचाईं बढ्दै गैरहेको थियो | प्रतिबन्धको बिचमा राज्यले झन्डै तिन हजार बराबरको कार्यकर्तालाई झुठा मुद्दा लगाई जेल नेलमा हाल्ने काम भयो | त्यहि मध्य म पनि एक थिए | ४५ दिनको कहाली लाग्दो जीवन गुजार्दै बाहिर निस्के | अझैसम्म हाम्रा साथीहरु खुल्ला आकाशमा आउने प्रतिक्षा गरिरहेका छन् दुश्मनको चार दिवारबाट | प्रतिबन्ध लगाउने तिनै कम्युनिस्टको खोल ओढेका ब्वाँसा हरुको सरकार थियो | त्यसपछि यी कम्युनिस्टको खोल ओढेका नामधारी कम्युनिस्टहरु जनताबाट नांगिदै गयो भने हाम्रो पार्टी उचाई हासील गर्दै थियो | राष्ट्रिय अन्तरराष्ट्रिय दवाब थेग्न नसकेर हाम्रो पार्टी माथि लगाएको प्रतिबन्ध फुकुवा गर्न सरकार बाध्य भयो | प्रतिबन्ध फुकुवा भएपछी आम कार्यकर्तामा खुशियाली छायो संगै परिवर्तन चाहने, क्रान्तिलाई माया गर्ने आम जनतामा चिन्ता छायो | चिन्ता लाग्नुको मुख्य कारण प्रचण्ड १२ बुँदेले सक्यो अब विप्लव तिन बुँदेले सक्छ भनेर थियो | हाम्रो पार्टी माथि प्रतिबन्ध फुकुवा गर्नेबेला तिन बुँदे सहमति भएको थियो |
    महासचिव कमरेड, प्रतिबन्धको बेला तपाई पनि सहज ढंगले त बस्नु भएन होला | तपाई पनि भोकै प्यासै बस्नु भयो होला | हामी फिल्डमा हिड्ने कार्यकर्ता पनि भोक तिर्खा गर्मि नभनी निरन्तर आठौ महाधिवेशनले सश्लेषण गरेको एकीकृत जनक्रान्तिलाई व्यवहारबाट पुष्टि गर्न निरन्तर लागि रहेका थियौ | कहिले जंगलमा त कहिले खोलाको किनारमा, कहिले जनताको झुपडीमा त कहिले झाडीमा दिनहरु बितायौ | जनताको अथाह मायाले अझै हामीलाई झन् उर्जा मिलिरहेको थियो | यस्तै हुँदाहुदै केन्द्रिय समिति भित्र खटपट भएको खबर बाहिर न आएको होइन | त्यो खटपट बरु दुश्मन सम्म पुग्ने तर कार्यकर्ता सम्म न आइपुग्ने कम्युनिस्ट पार्टीको पुरानै रोग हो | पार्टीको बैठक नसक्दै सबै निर्णय दुश्मनको हातमा पुग्नु हाम्रो कमजोरी रह्यो अथवा पार्टी भित्र रहेका दुश्मनबाट परिचालित धमिरालाई चिन्न नसक्नु, अलिकति आदर्शका कुरा छाट्नेलाई विश्वास गर्नु हाम्रो मुख्य कमजोरी देखिन्छ | पार्टी भित्र रहेका लुच्चा, फटाहा, आर्थिक भनेपछि मरिहत्ते गर्ने, आन्दोलन, सङ्घर्ष र संगठन निर्माण भनेपछि बिभिन्न बहानामा दुलोमा लुक्ने अवसरवादी कार्यकर्तालाई चिन्न नसक्नु पनि कमजोरी नै भयो | पार्टी र क्रान्ति भन्दा व्यक्ति पुजा गर्ने प्रवृत्तिले गर्दा पनि पार्टीको छबी धमिलिदै गएको देखिन्छ | पछिल्लो चरणमा आउँदा आठौ केन्द्रिय समितिको बार्हौ बैठक सम्म आउँदा सबै चिज छताछुल्ल भएर आयो | एकले अर्कोलाई देखि नसक्ने स्थिति भयो | यसमा मुख्य त तपाइको भूमिका खासै देखिएन | राष्टघाती अमेरिकी परियोजना एमसीसीको विरोध आन्दोलन सम्म आउँदा जनता र कार्यकर्तामा उत्साह नै थियो | त्यसपछि आन्दोलन पनि सेलाउदै गयो र तपाइले केन्द्रिय समितिमा प्रस्ताव गरेको राजनीतिक प्रतिवेदन पनि विश्वासयोग्य देखिएन | चुनावलाई उपयोग गर्ने, चुनावमा स्वतन्त्र उम्मेदवार उठाउने अथवा एमसीसी विरोधीलाई जिताउने भन्ने प्रस्ताव आयो । २०७४ सालको निर्वाचन जनताको पक्षमा नहुने, २०७९ सालको निर्वाचन कसरि जनताको पक्षमा भयो कमरेड ? प्रतिबन्धको बेला कठोर यातना पाउने साथीहरुको कुनै मुल्यांकन छैन । केन्द्रिय समितिको बैठकले निर्णय गरेको मसि सुक्न नपाउदै चितवनको केन्द्रिय प्रशिक्षणमा एकाएक कसरी उल्टयो निर्णय ? प्रश्न नै गर्ने हो भने हजारौ प्रश्न छन् कमरेड | प्रश्न राखेर मात्र समस्याको समाधान हुँदैन | मुख्य त यहाँ राष्ट्रको समस्या छ , जनताको समस्या छ र अझै मुख्य त जनयुद्धले पुरा गर्न नसकेको क्रान्ति पुरा गर्नु छ | अहिलेसम्म सबैको भरोसायोग्य नेता नै तपाई हो | तपाई माथि नै छ देश र जनताको भविस्य | हामी केहि समय अलमलियौ भने क्रान्ति र आन्दोलनले गति लिन छोड्छ , जनताले गरेको आशा निराशामा परिणत हुन्छ | हामी भन्ने बेलामा भन्छौ सबै क्रान्तिकारी, बामपन्थी र राष्ट्रवादी शक्तिहरुलाई ध्रुविकरण गर्छौ, तर व्यहारमा उही फुट परास्त नीति , अनि जनताले कसरी बुझ्ने ? तपाइको एक शब्दमा यो देशका लाखौ लाख युवाहरु बन्दुक बोकेर दुश्मनको राज्यसत्ता खरानी पार्न तयार छन् | यहाँ न धर्मेन्द्र एक्लैले क्रान्ति गर्छ न तपाई एक्लैले न यहाँ किरण एक्लैले गर्छ न आहुतिले | प्रचण्डको त कुरा नगरु उनि त बिक्रि सके | त्यसैले कमरेड अन्तमा म जस्तो क्रान्तिकारी सिपाहीहरुलाई निराशामा होइन आशा र भरोसामा लाग्ने नीति निर्माण गर्दै क्रान्तिकारी बिडोलाई दह्रोसँग पक्रेर क्रान्तिलाई विजयमा पुर्याई क्रान्तिको झण्डालाई सगरमाथाको चुचुरोमा फरफराउने उदेश्यका साथ कदम चाल्नुहोस , यसमा नै छ सारा शोषितपीडित जनताको भविष्य, यसमा नै छ देशको भविष्य | नेपालको कम्युनिस्ट आनदोलनलाई हाम्रो पुस्तामा तपाईको विकल्प छैन | भोलि अर्को पुस्तामा त कसले भविष्यबाणी गर्न सकिन्छ र !

    लाल सलाम !
    उही तपाइको शुभ चिन्तक विवेक लामा रामेछाप जिल्लाको निवर्तमान सेक्रेटरी

    प्रतिकृया दिनुहोस्