News Portal

  • किर्ते गरी अर्कैको खाताबाट दश लाख निकाल्ने व्यक्ति पक्राउ 

    जनगर्जन संवाददाता
    ३९५ पटक

    काठमाडौं । नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका- १ त्रिपुरेश्वर स्थित फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा. लि. का सञ्चालक प्युठानका प्रकाश राज भण्डारीले सञ्चालन गरेको कम्पनीको नक्कली छाप र प्रकाश राज भण्डारीको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंक लिमिटेडको खाताबाट पैसा निकालेको कसुरमा प्रहरीले मकवानपुरका वासुदेव अर्याललाई पक्राउ गरेको हो ।

    असम्बन्धित ब्यक्तिले पैसा निकाली रहेको भन्ने सूचनाका आधारमा प्रहरी बृत्त कालिमाटीबाट पीडित समेतको सहयोग, श्रोत साधन तथा प्रविधिको प्रयोग गरी घटनाको सम्बन्धमा सुक्ष्म अनुसन्धान गर्ने क्रममा ३१ असारमा अर्याललाई कलंकीस्थित नेपाल एसबिआई बैंकबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।


    अभियुक्तले प्रकाश राज भण्डारीको दस्तखत सहितको चेक फेला पारी पीडितको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएर प्रयोग गरी बैँकबाट चेकबुक हराएको भनी थप चेकबुक निकालेको अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्तले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने गरेको पनि अनुसन्धनबाट खुलेको प्रहरीले जनाएको छ। अर्यालले हालसम्म दश लाख ३५ हजार  रकम निकालेको भेटिएको छ।

    अर्यालसँग तिखोकलम डट कम नामक सञ्चार संस्थाको पत्रकारको परिचय–पत्र समेत भेटिएको छ । पक्राउ परेका अर्याललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार  ‘ठगी सम्बन्धी कसुर’  तथा  ‘लिखत सम्बन्धी कसूर’ अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

    अन्य ब्यक्ति र संस्था समेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी बृत्त कालिमाटीमा जाहेरी दिन समेत प्रहरीले अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्