News Portal

  • विश्वमा फैलिँदैछ अर्को नयाँ भाइरस ‘मंकीपक्स’

    जनगर्जन संवाददाता
    ४०९ पटक

    ९ जेष्ठ, काठमाडौं   कोरोना भाइरसको महामारी नसकिँदै विश्वमा ‘मंकीपक्स’ नामक अर्को भाइरसको बढ्दो संक्रमणले धेरैको ध्यान तानेको छ । पश्चिम तथा मध्य अफ्रिकामा देखिएको ‘मंकीपक्स भाइरस’ बेलायत, युरोप र अमेरिकाका १२ देशमा पुगिसकेको छ ।

    ‘मंकीपक्स’ भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा देखिएको थियो । त्यसपछि मानिसमा भने सन् १९७० मा कंगोमा देखिएको थियो । पछिल्लो पटक सन् २०१९ मा सिंगापुरमा नाइजेरियाबाट आएका एक व्यक्तिमा ‘मंकीपक्स भाइरस’ पुष्टि भएको थियो ।

    विश्व स्वास्थ्य संगठनले हालसम्म १२ देशका ८० भन्दा बढी व्यक्तिमा मंकीपक्स संक्रमण पुष्टि गरेको छ । त्यस्तै अरु ५० जनामा संक्रमण पुष्टि भएको आशंकामा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म युरोपका संयुक्त अधिराज्य, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मंकीपक्स’ भाइरस देखा परेको छ । चिकित्सकहरुका अनुसार यो भाइरस संक्रमणको स्रोत यकीन भएको छैन । मंकीपक्स संक्रमितको सम्पर्कमा नरहेकाहरुमा पनि संक्रमण भेटिएको छ । पछिल्लो समय बेलायतका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ‘मंकीपक्स’ समुदायस्तर सम्मै पुगिसकेको भन्ने विज्ञहरुले आंकलन गरेका छन् ।

    नेपालका संक्रामक रोग विशेषज्ञहरु उक्त भाइरसले स्वरुप परिवर्तन गरेको आंकलन गर्दै कोभिड–१९ को जस्तै लहरकै रुपमा फैलिनसक्ने अनुमान गर्छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार एक विज्ञप्ति निकाल्दै मंकीपक्स भाइरस असामान्य र गैरस्थानिक बनेर फैलिएको जनाएको छ । ‘मंकीपक्स भाइरस’ संक्रमित जनावरको शरीरबाट निस्कने तरल पदार्थ अथवा रगतबाट मानिसमा सर्ने गर्छ । विशेषत अफ्रिकी मुसा वा बाँदरबाट यो मानिसमा संक्रमण गर्न सक्छ ।

    ‘मानिसबाट मानिसमा भने थुकको छिटा, खुल्ला छाला, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण गर्न सक्दछ ।
    डब्लयूएचओका अनुसार संक्रमितसँग नजिकमा रहने व्यक्तिमा ‘मंकीपक्स’ सर्ने जोखिम हुन्छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार यो भाइरसको संक्रमण छिटो फैलिन्छ र अधिकांश मानिसहरू केही हप्तामा निको हुन्छन् । भाइरस मानिसमा सजिलै सर्दैन र व्यापक जनसमुदाय जोखिममा पर्ने सम्भावना कम रहन्छ ।

    अहिले मंकीपक्स देखिरहेको देशमा भाइरसको स्वरुप परिवर्तन भएकाले महामारीका रुपमा फैलनसक्ने खतरा पनि उत्तिकै रहेको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । उनका अनुसार यो भाइरसका दुई प्रकार पहिचान भएका छन् । एक, मध्य अफ्रिकाको एउटा भेरियन्ट जसले रोगको बढी लक्षण देखाउँछ, र पश्चिम अफ्रिकामा पाइने अर्को भेरियन्ट जसले हल्का लक्षण मात्रै देखाउँछ । ‘मध्य अफ्रिकाको भेरियन्टले १० प्रतिशत र पश्चिम अफ्रिकामा पाइने भरियन्टले २ देखि ३ प्रतिशत मृत्यु गराउने पाइन्छ’, डा। अधिकारीले अनलाइनखबरसँग भने, ‘मध्य अफ्रिकाको भेरियन्टले कोरोना भन्दा तीन गुणा बढी मृत्यु गराउँछ ।’ तर, अहिले फैलिएको भेरियन्ट पश्चिम अफ्रिकामा पाइने भेरियन्ट (कम घातक ) चाहिँ हो । ‘यो भाइरस सामान्यता मानिसमा खुल्ला छाला र थुकको छिटाबाट सर्ने देखिएको छ । तर, युरोपतिरका केशहरु हेर्दा कहाँबाट स¥यो भन्ने पहिचान हुन सकेको छैन । भाइरसले सर्ने स्वरुप परिर्वतन गरेको हो कि भन्ने डर भइरहेको छ,’ उनी भन्छन् ।

    चिकित्सकका अनुसार संक्रमण भएको ५ देखि २१ दिनसम्ममा ‘मंकीपक्स’ को लक्षण देखिने गर्छ । ज्वरो आउनु, टाउको र जिउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षणहरु हुन् । यी लक्षण देखिएको १ देखि ३ दिनसम्ममा अनुहार तथा शरीरका अन्य भागमा बिबिराहरु देखिन थाल्छन् र ती चिलाउँछन् । पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै जान्छन्, तर दाग बसिरहन सक्छ । ‘मंकीपक्स’ सामान्यतय २ देखि ४ हप्तामा आफैँ निको हुने गर्दछ । तर झन्डै दश संक्रमित मध्य एकको भने जटिलताको कारणले मृत्यु हुने देखिएको संक्रामक रोग विशेषज्ञहरु बताउँछन् ।

    प्रतिकृया दिनुहोस्