News Portal

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा ६ घण्टा

    जनगर्जन संवाददाता
    ४१६ पटक

    ३ जेष्ठ, काठमाडौं   २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा सोमबार बिहान १० बजेर ४० मिनेटमा आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीमा ६ घण्टा बिताए । भारतीय वायु सेनाका चार हेलिकोप्टरसहित आएका उनी दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहे । उनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उनका लागि निर्माण गरिएको हेलिप्याडमा ओर्लिएका थिए ।
    मोदीको स्वागतार्थको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानमन्त्रीपत्नी आरजु राणा, पर्यटनमन्त्री प्रेम आले र गृहमन्त्री बालृकष्ण खाँडलगायतका उच्चपदस्थ सरकारी अधिकारीहरु लुम्बिनी आएका थिए ।

    २५६६ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा मायादेवी मन्दिरमा विशेष पूजा गरेर सुरु भएको मोदीको भ्रमण अशोक स्तम्भअगाडि दीप प्रज्जलन गर्दै अघि बढ्यो । त्यसपछि उनी मायादेवी मन्दिर परिसरमा तयार गरिएको मञ्चमा पुगेका थिए । जहाँ बौद्ध भिक्षुले दुवै प्रधानमन्त्रीसमक्ष बुद्ध पूजा लगाएत परित्राण पाठ गरेका थिए । त्यसपछि मोदीले मन्दिर परिसरमा रोपिएको बोधीवृक्षमा सिँचाइ गरे । यो वृक्ष मोदीले नै रोप्ने भनिए पनि सुरक्षाका कारण जनाउँदै उनको भ्रमण स्थगित भएपछि तत्कालीन भारतीय राजदूत रञ्जित रेले सन् २०१४ डिसेम्बर १० मा उक्त बिरुवा रोपेका थिए । मन्दिरबाट बाहिरिनुअघि मोदीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । बिहान ११ बजे मन्दिरमा पुगेका उनी साढे ११ बजे बाहिरिए ।

    मन्दिरबाट पुरानो रुट हुँदै पश्चिमतर्फको ९ नम्बर गेट भएर प्रधानमन्त्री मोदी र देउवा भारतीय संस्कृत तथा पर्यटन मन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) ले निर्माण गर्न लागेको विहार शिलान्यास गर्न पुगेका थिए । लुम्बिनीको पश्चिमी विहार क्षेत्रमा निर्माण हुन लागेको विहारमा दुवै प्रधानमन्त्रीले भूमि पूजा गरे । कार्यक्रममा ४० मिनेट बिताएपछि मोदी होटल पवन प्यालेस प्रस्थान गरेका थिए । जहाँ दुबै मुलुकका प्रधानमन्त्रीबीच भेटवार्ता र विभिन्न ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भयो ।

    त्यसपछि दुवै प्रधानमन्त्री र विशिष्ट पाहुना अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा आयोजित बुद्धजयन्ती समारोहमा सहभागी भए । ५ हजार जना अट्ने क्षमताको हलमा आयोजित कार्यक्रममा दुवै प्रधानमन्त्रीका अलवा नेपाल सरकारका मन्त्री, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, सचिवहरू, सुरक्षा प्रमुख, कूटनीति र दातृ निकायका प्रमुखलगायत विभिन्न व्यक्तिहरु सहभागी थिए । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभल पनि त्यहाँ उपस्थित थिए । सहभागीहरूलाई लुम्बिनी बिकासका कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले स्वागत गरेका थिए । कार्यक्रममा आफ्नो भनाई राखेपछि मोदी साढे ४ बजे फर्किएका थिए ।

    प्रतिकृया दिनुहोस्