News Portal

  • २५६६ औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदी पहिलोपटक लुम्बिनी आउँदै

    जनगर्जन संवाददाता
    २९१ पटक

    २९ बैशाख , काठमाण्डौं   आगामी जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक बुद्धजन्मस्थल लुम्बिनीमा आउने भएका छन् । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर यहाँ नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि लुम्बिनी क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ । मोदीको सुरक्षाका लागि ३० जना भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन गार्ड ) बुधबार नै लुम्बिनी आईसकेका छन् । उनीहरू भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेका थिए ।

    बुधबारदेखि नै लुम्बिनीमा नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले संयुक्त रुपमा गस्ती सुरु गरिसेकेको छ । ‘भित्री सुरक्षा सबै हेडक्वार्टरले हेरेको छ, जिल्लाले बाहिरी सुरक्षा मात्र हेरेको छ’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले भने, ‘लुम्बिनीसहित आसपासका सबै क्षेत्रमा त्रुटिरहित उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ । मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण,स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।

    २५६६औं बुद्धजयन्तीको मूल समारोह लुम्बिनीमा मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् । त्यसपछि मोदीले मायादेवी मन्दिर दर्शन र भारतीय बुद्धिस्टहरुको संस्था इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।

    अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसन भारतको संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । एक अर्ब भारतीय रुपैयाँमा तीन वर्षभित्र बौद्ध बिहार निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । मायादेवी मन्दिरमा करिब ४० मिनेट बिशेष पूजामा सहभागी हुने र त्यहाँ केही बेर फोटोशेसन तथा अशोक स्तम्भ अगाडि दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि मोदी २५६६औं बुद्ध जयन्ती मूल समारोहमा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ । मोदी लुम्बिनीमा २ देखि ३ घण्टा रहने सुरक्षा स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्