News Portal

  • युवा संगठन नेपालद्वारा बिकृतिबिरुद्ध सशक्त संघर्ष गर्ने

    जनगर्जन संवाददाता
    ४९५ पटक

    काठमाडौँ । युवा संगठन नेपालले सुगौली सन्धी र सन् १९५० मा गरिएको शान्ति तथा मैत्री सन्धी लगायत सम्पूर्ण असमान सन्धी सम्झौता र धाराहरुको खारेज हुनुपर्ने, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा रहेको भारतीय सेनाको क्याम्प हटाउन सशक्त संघर्ष संचालन गर्ने, एमसीसी नेपालको हितमा नभएको हुँदा यसको पूर्ण खारेजीको लागि आन्दोलनको संचालन गर्ने, राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्ता क्षेत्रीय अखण्डताको रक्षा गर्न निरन्तर संघर्ष गर्ने, गोर्खा भर्ती केन्द्रका नाममा युवाहरुलाई नवदास तथा गुलाम बनाउने कार्य रोक्न राजनीतिक, कुटनैतिक तथा संघर्षका कार्यहरु गर्ने, जनताको मौलिक अधिकारको रुपमा रहेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, तथा जनअधिकार र जनजीविकाको पक्षहरुलाई स्थापित गर्न संघर्ष संचालन गर्ने, सामाजिक विकृति विसंगतिका रुपमा रहेका धार्मिक अन्धता, जातिय विभेद, लैंगिक विभेद र महिलामाथी हुने सामाजिक दुर्व्यवहार तथा असुरक्षा र बलात्कार जस्ता अमानवीय घटनाहरुको अन्त्यका लागि सामाजिक जागरण तथा संघर्ष संचालन गर्ने, लागूऔषध दुर्व्यसनी गर्ने गराउनेहरुलाई सचेतना कार्यक्रमहरु तथा कार्वाही गर्ने, राज्यसत्ता र राजनीतिक दलहरुका आडमा भइरहेका दलाली, कमिसनखोर, भ्रष्टाचार, सरकारी सम्पत्तीको दोहनसँगै मानव तस्कर र चोरी पैठारी लगायतका क्रियाकलापहरुका विरुद्ध सशक्त संघर्ष गर्ने उदघोष गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले बुधबार पत्रकार सम्मेलनको आयोजना चौथो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्दै सो उदघोष गरेको हो ।


    यस्तै सो संगठनले नेपालमा पैदा भएका संकटहरुको उचित समाधान वैज्ञानिक समाजवादले मात्र दिन सक्ने भन्दै नेपाली जनताले आफ्नो व्यवस्था आफै चुन्न पाउने एक मात्र लोकतान्त्रिक विधि जनमतसंग्रहका लागि युवाहरुलाई व्यापक परिचालन तथा संघर्ष गर्ने, नेपालका युवायुवतीहरुलाई नेपालमै रोजगारको व्यवस्था गर्न राज्यसँग जोडदार माग गर्ने, नेपालमा बढ्दो क्रममा रहेको बेरोजगारी अन्त्यका लागि सम्पूर्ण युवाहरुलाई स्वदेशमै रोजगार सृजना गर्न संगठनले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना निर्माण गर्दै जाने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । पत्रकार सम्मेलनमा चौथो राष्ट्रिय सम्मेलनले पास गरेका दुरगामी निर्णयका विषयमा धारणा संगठनका नवनिर्वाचित उपाध्यक्ष, सचिवले राखेका थिए भने सम्मेलनले लिएका निर्णयहरु संगठन अध्यक्ष पाटन जंगलीले प्रस्तुत गरेका थिए ।
    युवा संगठन नेपालका कोषाध्यक्ष विश्लेषणको स्वागत मन्तव्यबाट सुरु भएको पत्रकार सम्मेलनको अध्यक्षता संगठन अध्यक्ष पाटन जंगलीले गरेका थिए भने सहजीकरण संगठनका महासचिव बिदुसीले गरेकी थिइन् ।

    पत्रकार सम्मेलनमा नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रताप रेग्मी तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको आतिथ्यता रहेको थियो । युवा संगठन नेपालको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनको भव्य उद्घाटन सत्र घोराहीको सहिद मन्चमा कार्तिक १३ गते भएको थियो भने बन्दसत्र दाङको तुलसीपुरमा कार्तिक १४ र १५ गते दुईदिनसम्म भएको थियो ।

     

    प्रतिकृया दिनुहोस्