News Portal

  • जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जना मजदुरको मृत्यु

    जनगर्जन संवाददाता
    ३८० पटक

    ६ असार, वीरगञ्ज । बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगमा फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा  दुई जना मजदुरको मृत्यु भएको छ । अन्य तीन जना घाइते छन् । मृतक दुवै भारतीय नागरिक हुन् । भारतको बिहार घर भएका ४० वर्षीय प्रदीप गोढ र ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

    शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत राजकुमार बिक, इन्द्रप्रसाद अधिकारी र नवराज चौलागाई घाइते छन् । घाइतेको तराई सिमरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।

    ट्याङ्की पड्किएपछि उद्योगमा आगलागी  भएको थियो । जितपुर सिमरा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । समयमै आगलागी नियन्त्रणमा लिएको छेउमै रहेको अर्को फर्निस आयलको ट्याङ्कीमा क्षति हुन नपाएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।

    उद्योगमा फलाम तताउने भट्टी छेउमा रहेको फर्निस आयलको ट्याङ्की पड्किएर आगलागी भएको उद्योगका मजदुर युनियनक सचिव दीपक कार्कीले बताए । ‘उद्योगमा आयल निगममा जस्तै फर्निस आयलको ट्याङकीहरु छन् । लामो समय बन्द भएकोले मर्मत गर्न मजदुर साथीहरु जानुभएको थियो,’ उनले भने, ‘ट्याङकीमा ग्याँस बनेर बसेको रहेछ कि के हो ढक्कनमा टेक्ने वित्तिकै विष्फोट भएछ ।’

    प्रतिकृया दिनुहोस्