News Portal

  • एकपटक पढ्नैपर्ने नाट्यकृति ‘माओ जे दोङ

    कुशल बोगटी
    २५१ पटक


    समालोचक तथा नाटककार खेम थपलियाको नाट्यकृति ‘माओ जे दोङ’, प्रकाशनमा आएको छ । थपलियाद्वारा लिखित ‘माओ जे दोङ’ नाटकमा माओसित सम्बन्धित विभिन्न ऐतिहासिक सन्दर्भलाई नाट्यीकरण गरिएको छ । ९ दृश्यमा संरचित ‘माओ जे दोङ’ नाटक १६० पृष्ठ रहेको छ । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाका यसभन्दा अगाडि १७ कृति प्रकाशनमा आइसकेका छन् ।
    नाटककार खेम थपलिया नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय महासचिव पनि हुन् । उनी आफूलाई हरेक चुनौतीपूर्ण समय र परिस्थितिसँग साक्षात्कार गर्न रुचाउँछन् । विभिन्न समसामयिक शीर्षकमा कलम चलाइरहने थपलिया विधाको हिसाबले मूलतः नाटककार र समालोचक हुन् । तपाईं हाम्रो हात आएको ‘माओ जे दोङ’ नाटकको पहिलो दृश्यमा माओ, विपी, चाउ एन, महेन्द्र, सूर्यप्रसाद, पान जिली, लुओ गुइवोजस्ता पात्रहरू रहेका छन् । त्यसमा कमरेड माओ र विश्वेश्वरप्रसाद कोइरालाबिच निकै रोचक राजनीतिक संवाद देखाइएको छ । विशेषगरी, राष्ट्रियताको सन्दर्भमा भारत र चीनको सम्बन्ध, चीन र नेपालबिचको सम्बन्धबारेमा कुराकानी भएको देखिन्छ । दुइटै देशका राष्ट्र प्रमुखहरूको बिचमा चलेको संवादले के देखाउँछ भने राष्ट्रियताको सन्दर्भ यति जब्बर छ कि त्यो कसैले पनि सानूतिनु आशा र र स्वार्थले छोड्न सकिँदैन, न त कुनै सम्झौता नै गर्न सकिन्छ । यस मामिलामा एक देशले अर्को देशमाथि गरिने सबैखाले अतिक्रमणका विरुद्ध डटेर लड्न सकिन्छ । बरु ज्यान दिन सकिन्छ तर एक इन्च भूमि छोड्न सकिन्न । यिनै भाव प्रस्तुत नाटकमा प्रस्तुत भएको छ । अहिले नेपालमा राष्ट्रियताको खुब बहस चलेको बेला यो निकै पठनीय र मननीय बन्न गएको छ । संवादहरू अलि लामा भए पनि रोचकताका साथ पहिलो दृश्य समाप्त भएको देखाइएको छ ।
    ‘माओ जे दोङ’ नाटकको दोस्रो दृश्य माओ र अन्नाबिच कुराकानी हुन्छ । यहाँ पनि एकले अर्को देशलाई कसरी मित्रवत् ढङ्गले सहयोग गर्न सकिन्छ, राजनीतिक समस्यालाई कसरी शान्तिपूर्ण ढङ्गले निकास दिन सकिन्छ, अमेरिकाले च्याङ काईसेकलाई गर्दै आएको आर्थिक सहयोग रोकियो भने उसले कति दिन आफ्नो शासन टिकाउन सक्लाजस्ता गहन विषयमा विमर्श भएको देखाइएको छ । उहाँहरू दुवैजना निकै चिन्तित तथा समस्याको दीर्घकालीन निकासको खोजीमा देखिनुभएको छ । कुनै देशले अर्को देशमाथि गर्ने भनेको सहयोगी सम्बन्ध मात्र हो, त्यहाँ कुनै एक देशका प्रमुखले आफूहरूबिच मात्र विशेष सम्बन्ध बनाउन र आफू सत्तामा टिकिरहन गरिने राष्ट्रहितविपरीत गरिने लेनदेन होइन भन्ने कुरालाई मार्मिक भावमा व्यक्त गरिएको छ । राष्ट्र र जनताको हितमा छ भने संवाद, सम्झौताहरू जनतालाई साक्षी राखेर गरिनुपर्छ भन्ने भावलाई नाटककारले कलात्मक ढङ्गले उजागर गरेका छन् ।
    तेस्रो दृश्यमा चीनमा माओ सत्तामा आइसकेपछि रुसी नेता कमरेड स्टालिनसँगको भेट र रुसले गरेको सहयोग र कम्युनिस्ट मुलुकबिचको सम्बन्धलाई कसरी मजबुद बनाउने र हामीले विश्वलाई के सन्देश दिन सकिन्छ भन्नेबारे कमरेड माओ र स्टालिनका बिचमा गम्भीर वार्तालाप हुन्छ । हामी फौजी र आर्थिक हिसाबले कसरी आत्मनिर्भर रहने, समाजवादी मुलुकले पुँजीवादी शक्तिसँग सामारिक हिसाबले कसरी दीर्घकालीन ढङ्गले लड्न सकिन्छ जस्ता अति महत्वपूर्ण छलफल चल्छ र त्यसका बारेमा साझा दृष्टिकोण बनाएर समाजवादको मूल्यबोध गराउँदै जाने सहमतिसहित दृश्य टुङ्ग्याइएको छ । यसले के सन्देश दिन्छ भने कम्युनिस्टहरू सरकारमा गएपछि आफ्ना नाता–गोतालाई भर्ती गर्न होइन, सक्षम, इमानदार र क्षमातावान् मान्छेहरूलाई राज्यको महत्वपूर्ण ठाउँमा लगेर देश र जनताको सेवामा प्रतिवद्ध हुन लगाउनपर्दछ । यहाँ जनतामा नयाँ सन्देश दिनुपर्दछ भन्ने कुरा देखाइएको छ ।
    विभिन्न विषय, तिनका पात्र र प्रवृत्तिबारे नौदृश्यमा समेटेर प्रस्तुत नाटक पुस्तकको बिट मारिएको छ । यो नाटकले मूल रूपमा राष्ट्रियताका सन्दर्भमा गम्भीर बन्नुपर्ने कुरालाई जोड दिएको छ । नेपालमा पछिल्लोपटक नेपाली जनतामा राजनीतिक पार्टीप्रतिको वितृष्णा जुन सतहमा देखिएको छ, त्यो गम्भीर प्रकारको समस्या हो । दलहरू आफ्नो व्यक्तिगत, गुटगत र नातागत हिसाबले जसरी हुन्छ ‘मैं लाऊँ, मैं खाऊँ’ भन्ने स्वार्थी मानसिकताबाट ग्रसित भएका कारण जनता अत्यन्त रुष्ट भएका हुन् । शक्तिशाली राष्ट्रसँग लम्पसार भएर ऋण माग्ने अनि आफ्ना नाता–गोता पोस्ने, ऋणको भारचाहिँ जनताले मात्र बोक्नुपर्ने अवस्था देखा परेको छ । राजनीतिक संस्कार र संस्कृतिमा इमानदार हुने राजनीतिक वातावरणको निर्माण गर्नुपर्ने अवस्था देखा परेको छ । यो पुस्तकले ऐतिहासिक कुरालाई आजको सन्दर्भमा जोड्ने प्रयास गरेको देखिन्छ । जनताको व्यवस्था ल्याउन निरन्तर क्रान्तिको मार्ग समाउनुपर्दछ भन्ने कुरालाई मूलतः यो नाटकले विषय उठान गरेको छ । आजको आवश्यकताका बारेमा पनि यसले गम्भीर विषयहरू उजागार गरिदिएको छ । मध्यम आयतनमा रहेको एवम् आकर्षक साजसज्जा सजिएको प्रस्तुत नाट्यकृति ‘माओ जे दोङ’ एकपटक सबैले पढ्नुपर्ने पुस्तक बनेको छ !

    प्रतिकृया दिनुहोस्