


काठमाडौं । पार्टी एकताका लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले अगाडी सारेको ६ बुँदे प्रस्ताव अस्पष्ट रहेको भन्दै त्यसमा सन्तुष्ट हुन नसक्ने निश्कर्ष माधव नेपाल समुहले निकालेको छ ।
ओलीको एकता अपिल पछि सोमबार वसेको माधव नेपाल पक्षको भर्चुअल बैठकले ओलीको वक्तब्यमा अझै विरोधाभाष देखिएको भन्दै सन्तुष्ट हुन नसकिने साझा निश्कर्ष निकालेको हो ।
ओलीको ६ वुँदेमा देखिएको अस्पष्टता लाई स्पष्ट पादै आफ्नो तर्फबाट पनि नेपाल पक्षले अडानसहितको अपिल जारी गर्ने निर्णय नेपाल समुहको स्थायी समिति बैठकले निकालेको छ । नेपाल पक्षले त्यस्तो अपिल लिखित रुपमा नै गर्ने निर्णय भएको हो।
ओलीले जेठ ३ मा पार्टी फर्किएको भने पनि त्यो नेकपा भएको अवस्थामा नभई एमालेकै अवस्था जेष्ठ २ मा फर्किनुपर्ने, सर्वाेच्च अदालतमा पुगेर गरेको हस्ताक्षर लोकतन्त्र, संविधान बचाउनका लागि गरिएकोले फिर्ता लिन नसक्ने र फिर्ता लिनु भन्दा ओलीले प्रतिनिधीसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने जस्ता अडान राखेर नेपाल समुहले छुट्टै अपिल गर्ने भएको छ ।
नेपाल समुहले जारी गर्ने छुट्टै अपिलका विषयमा अहिले नेताहरुले डाफ्ट तयार पारिरहेका छन् । “अध्यक्ष ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ । शर्त मानेर एकता सम्भव छैन । लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ,’ बैठकपछि स्थायी समिति सदस्य बेदुराम भुषालले भने ।
