News Portal

  • ललितपुर महानगर पालिकाले कोभिड मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

    जनगर्जन संवाददाता
    ५५ पटक

    कोभिड प्रभावितलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । कोभिड संक्रमित भई उपचारको क्रममा निधन भएका व्यक्तिका परिवारलाई महानगरले प्रति मृतक १ लाख सहयोग गर्ने निर्णय गरेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिए ।

    उनले भने ‘ महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो, स्थानीय सरकार नागरिकको सुख दुखको साक्षी हो ,त्यसैले आर्थिक सहयोगको निर्णय गरेका हौं । ’ आइसियू तथा भेन्टिलेटरमा रही उपचार गरेर निको भएकालाई जनही ५० हजार र अस्पताल भर्ना भएर कोभिड जितेका प्रत्येकलाई २५ हजार प्रदान गर्ने महानगरले जनाएको छ । उक्त समितिको संयोजक महानगर प्रमुख हुने व्यवस्था रहेको छ ।

    यसैगरीे प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षण समेत गर्ने महानगरले जनाएको छ । महानगरप्रमुख महर्जनले जनताको स्वास्थ्य र सुरक्षा महानगरको पहिलो प्राथमिकता भएको बताउँदै भने, ‘विकास निर्माण हाम्रो दोस्रो प्राथमिकतामा पर्छ । ’ पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार कोरोनाको दोस्रो भेरियन्ट सुरु भएपछिकालाई मात्रै यो सहयोग प्रदान गरिनेछ ।

    महानगरका स्थायी बासिन्दा पाउने यो सहयोग प्राप्त गर्नका लागि अन्य सिफारिस पत्र लगायतका पेश गर्नुपर्नेछ । उपप्रमुख गीता सत्यालले यो जनमुखी निर्णय भएको बताइन् । उनले भनिन् ‘ महानगरवासीको सुखदुखमा हामी सधैसँगै छौं, यो सहयोगले प्रभावितलाई पक्कै पनि राहत हुन्छ ।

    ’ महानगरका प्रमुख प्रशासकीय अधिकृत तथा ¥यापिड रेस्पोन्स टिमका संयोजक गणेश अर्यालले कोरोना नियन्त्रणका लागि महानगरले भएका स्रोत साधन प्रयोग गरी अब्बल काम गरेको बताए । पत्रकार सम्मेलनमा वडाअध्यक्षहरुको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्