News Portal

  • राष्ट्रिय सभा उपनिर्वाचन आज, मतपरिणाम आजै आउने

    जनगर्जन संवाददाता
    ५१ पटक

    ६ जेठ, काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो ।उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव नेपाल समूहका  खीमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

    बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ। शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन्।

    निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ। मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ। मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ।

    प्रतिकृया दिनुहोस्