News Portal

  • एक हप्ताभित्र चिनियाँ सहयोगको ४० थान भेन्टिलेटर तातोपानी नाकामा आइपुग्ने

    जनगर्जन संवाददाता
    ९७४ पटक

    काठमाडौं । चिनियाँ अनुदानको चार सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर हवाईमार्गबाट नेपाल ल्याएलगत्तै चीनले थप ४० थान भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने भएको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ सहयोगका ४० थान भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डिआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एनेस्थिेसिया मेसिन उपलब्ध गराउँदै छ । यी स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने मुख्य सचिव नेतृत्वको कोभिड–१९ सहजीकरण समितिले जनाएको छ ।

    समितिका अनुसार चिनियाँ अनुदानको स्वास्थ्य सामग्रीहरुमध्ये ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटर भने हवाई मार्ग हुँदै नेपाल ल्याइने छ । ती सामग्री लिन नेपाल वायु सेवाको वाइडबडी जहाज यही फागुन २७ गते बेइजिङ क्यापिटल एयरपोर्ट प्रस्थान गर्ने छ । सो जहाज भोलिपल्ट विहान २ः३५ बजे नेपाल आइपुग्ने छ ।

    त्यसलगत्तै थप स्वास्थ्य सामग्रीहरु एक हप्ताभित्र तातोपानी नाकामा आइपुग्ने समितिको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । चीनले नेपाललाई २० हजार थान अक्सिजन सिलिण्डर अनुदानमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही घोषणा अनुसार पहिलो खेपमा चार सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याउन लागिएको हो ।

    प्रतिकृया दिनुहोस्