News Portal

  • सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैनः प्रधानमन्त्री ओली

    जनगर्जन संवाददाता
    ३४ पटक

    प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको हो । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    उहाँले विश्वका कतिपय देश लकडाउनमा पुगिसके पनि सरकारले सतर्कता विधिलाई नै अघि सारेको बताउनुभएको हो । परिस्थिति बिग्रियो भने त्यहाँ पुग्नुपर्ने भए पनि अहिले नै सोच नरहेको भन्दै प्रधानमन्त्री ओलीले सावधानी अपनाउन सबैलाई अपिल पनि गर्नुभयो ।

    उहाँले कतिपयले प्रधानमन्त्रीले लकडाउनको धम्की दिएको भन्दै आफू त्यो पक्षमा नरहेको जिकिर गर्नुभएको छ । उहाँले सरकारले विकास निर्माणका कामलाई उच्च प्राथमिकताका राखेकाले निराशा जगाउन खोजिएका प्रयासहरु मान्य नहुने तर्क गर्नुभयो ।

    उहाँले लामो समयदेखिको प्रतीक्षामा रहेका मेलम्ची खानेपानी काठमाडौंमा ल्याएको भन्दै देशभर विकास निर्माणका कामले तीव्रता पाएको बताउनुभयो ।

    अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले विदेशा असुरक्षा रहेकाले देशभित्रै रहेर उपयुक्त रोजगारीका अवसर खोज्न आग्रह गर्नुभयो । उहाँले युवाहरुको दक्षता र सीपको प्रयोग देशको विकासमा लगाउनु आग्रह पनि गर्नुभयो ।

    ओलीले मुलुकमा अब कुनै पनि ‘हिंसाको अवलम्बन गर्ने समूह’ नरहेको पनि बताउनु भयो । ‘हिंसाको माध्यमबाट राजनीतिक अभिष्ट पूरा गर्ने’ कुनै पनि समूह नरहेको उहाँले ‘हिंसा अवलम्बन गरेको समूहलाई’ शान्तिपूर्ण राजनीतिक मूलधारमा ल्याइएकाले अब मुलुकमा हिंसा नहुने बताउनुभयो ।

    ‘गए वर्ष (२०७६) मा जसरी हामीले पृथकतावादलाई अन्त्य गर्दै राष्ट्रिय एकताको सुरुवात ग¥यौँ, यस वर्ष (२०७७) मा पनि हामीले राजनीतिक उपलब्धि प्राप्त ग¥यौँ’, उहाँले भन्नुभयो, ‘हिंसाको बाटो अवलम्बन गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा लिएर आएका छौँ । अब देशमा हिंसाको राजनीति छैन ।’

    प्रतिकृया दिनुहोस्