News Portal

  • वर्गयुद्धमा सञ्चार वर्गीय मान्यता भन्दा बाहिर जान सक्दैन ।

    जनगर्जन संवाददाता
    ६५ पटक

    सैद्धान्तिक हिसाबले सङ्घर्ष जसरी सामाजिक जीवनको अभिन्न अङ्ग हुने गर्छ, व्यावहारिक हिसाबले सञ्चार (यहाँ सञ्चार भन्नाले आन्तरिक सूचना सञ्चार नभईकन प्रचार, प्रसार र प्रकाशन भन्ने बुझिनेछ) सङ्घर्षको एउटा अभिन्न अङ्ग बन्ने गरेको हुन्छ । कसैले चाहेर होस् या नचाहेर, वर्गीय समाजभित्र जुन वर्गको धरातलमा उभिएको मान्छेको हातमा सञ्चारका साधनहरू रहेका हुन्छन्, त्यसैको प्रयोग पनि त्यही वर्गको हितमा हुने गर्दछ । जसको कारण स्वतन्त्र सञ्चार या निष्पक्ष सञ्चारको नारा केवल कोरा भ्रम या कोरा पाखण्डबाहेक केही हुन सक्दैन । वर्ग समाजभित्र वर्गीय मान्यताभन्दा कुनै पनि सञ्चार बाहिर जान सक्दैन । स्वतन्त्र या निष्पक्ष सञ्चारको नारा अहिले अति चर्चित, व्यापक र आम नारा बनेको छ । अहिले संसारको कुनै पनि कुनामा जानेर होस् या नजानेर स्वतन्त्र र निष्पक्ष सञ्चारको बहस गरिन्छ । परन्तु के कुनै सञ्चार निष्पक्ष हुन सक्छ ? के त्यस्तो निष्पक्ष सञ्चार सम्भव छ ? निरपेक्ष रूपमा त्यसप्रकारको निष्पक्ष सञ्चार सम्भव छैन ।

    उदाहरणका लागि लिऔँ, अमेरिका र उत्तर कोरियाको सन्दर्भमा संसारमा सबैभन्दा निष्पक्ष र स्वतन्त्र प्रेसको वकालत गर्ने बीबीसीको पत्रकारिता निष्पक्ष रहन सक्दैन । अमेरिकाभित्र डिमोक्र् याटिक र रिपब्लिकनबीचको पत्रकारितामा ऊ निष्पक्ष जस्तो हुन सक्ला या युरोपभित्र फ्रान्स र बेलायतका बीचमा निष्पक्षता देखाउन सक्ला तर पश्चिम युरोप र रुसका बीचमा उसको निष्पक्षता रहन सक्दैन । यही कुरा अमेरिकाको केवल न्युज नेटवर्क सीएनएन र चाइनिज सेन्ट्रल टेलिभिजन सीसी टीभीका सन्दर्भमा पनि सत्य हो कि निश्चित वर्गीय मूल्य र मान्यताभन्दा बाहिर यी सञ्चारका माध्यमहरू पनि निष्पक्ष रहन सक्दैनन् । स्वतन्त्रता शब्द राजनीतिक पार्टीहरू, मानव अधिकारवादीहरूलगायत तमाम सङ्घ सङ्गठनहरूको जसरी एउटा आम ‘फेसन’ बनेको छ, त्योभन्दा बढी त्यही स्वतन्त्रताको पर्दाभित्र निरङ्कुशताका अभ्यासहरू गरिएका छन् । नेपाली समाजको परिवर्तन गर्ने महान् जनयुद्धलाई नेपाली शासकवर्गबाट ‘स्वतन्त्रतापूर्वक’ आतङ्कवादको बिल्ला भिराउँदै ‘स्वतन्त्रतापूर्वक’ दमनका लागि मद्दत गर्न सञ्चारको प्रयोग यही मुलुकका इतिहासमा भएको छ । ‘स्वतन्त्र’ पत्रकारिताको प्रयोग अहिले राष्ट्रियताको मुद्दामा नझुकेको कारण सरकार छोड्नुपरेको माओवादीको ऐतिहासिक सङ्घर्षलाई शासन गर्न ‘असक्षम’ भएको प्रचार ‘स्वतन्त्रतापूर्वक’ गरिएको छ तर वास्तविकता के हो भने मानवजाति जति सुसभ्य, विकसित र सुसंस्कृत बन्दै जान्छ, उसले त्यत्तिकै रूपमा चर्चामा आउने गरेको बजारु स्वतन्त्रता गुमाउँदै जाने हुन्छ ।

    स्वतन्त्रताको सन्दर्भमा जसरी मानवजाति सामाजिक सम्बन्धमा आइसके पनि निरपेक्ष रूपले स्वतन्त्र हुन सक्दैन, ठीक त्यसैगरी त्यही समाजभित्र समाजको अभिन्न अङ्गका रूपमा रहने सञ्चार पनि निरपेक्ष रूपले स्वतन्त्र रहन सक्दैन । सामाजिक सम्बन्ध मानवजातिका लागि आफैँमा एउटा बन्धन हो । जसरी मानवजातिले आफ्नो प्रगतिका लागि स्वतन्त्र सम्झेको हुन्छ, त्यो प्रगति उसले सामाजिक बन्धनकै कारणले मात्र सम्भव हुन्छ । समाजमा आर्थिक, राजनीतिक, सांस्कृतिक विकास गर्ने उसको सामाजिक बन्धनका कारणले उसलाई नयाँ‘–नयाँ‘ आविस्कार, खोज र विकास गर्ने उत्प्रेरणा मिलिरहेको हुन्छ । सामाजिक उत्तरदायित्व, राजनीतिक परिबन्ध र वैचारिक बन्धनभन्दा बाहिर कुनै पनि मानिस स्वतन्त्र हुन सम्भव छैन । मानवजातिका लागि सामाजिक दायित्वभन्दा बाहिर स्वतन्त्रता खोज्नु भनेको मृत्युवरणबाहेक अन्य केही हुन सक्दैन ।

    अब पत्रकारिता या सञ्चारको सन्दर्भमा स्वतन्त्रताको प्रश्नमा आउँदा यो कुरा स्पष्ट हुन आउँछ कि समाजमा सञ्चार एउटा निश्चित मूल्य र मान्यताबाट अनिवार्य रूपमा बाँधिएको हुन्छ, जुन कुरा उसको वैचारिक धरातलले निर्धारण गर्दछ । के बीबीसी र सिएनएन उत्तर कोरियाको पक्षमा बोल्न स्वतन्त्र छ ? निश्चित रूपले छैन । यदि सञ्चार स्वतन्त्र हुन्थ्यो भने विश्वका ठूला सञ्चारहरूले जति उत्तर कोरियाको र बेलायतको विरोध गर्न सक्नुपथ्र्यो, यी ठूला सञ्चार माध्यमहरू जति गम्भीरताका साथ इराकमा विद्रोहीहरूको आक्रमणमा मानिस मारिँदा प्रचार गर्दछन्, त्यति गम्भीरताका साथ त्यसको कारणका बारेमा प्रचार गर्न सक्दैनन् । इराक युद्धको कुरा गर्दा संसारका ठूला सञ्चार माध्यमहरू जति स्वतन्त्रतापूर्वक सद्दाम हुसेनका विरुद्ध सयौँ र हजारौँ झुटहरूको फर्मान गरिरहेका हुन्थे, त्यही स्वतन्त्रताको प्रयोग अमेरिका र बेलायतका युद्धपिपासु नीतिको भण्डाफोर गर्न कहिल्यै प्रयोग भएनन् । बरू कुनै तरिकाले अमेरिका गठबन्धनको गलत नीतिको उजागर गर्ने पत्रकारमाथि कार्बाही गरियो र बेलायती संस्थापनका एक जना वैज्ञानिक डाक्टरको अपुस्ट रूपमा हत्या गरियो, जसलाई पुष्ट रूपमा आत्महत्याको कहानी बनाइयो । स्वतन्त्र सञ्चारको नारा यसकारण या त एउटा भ्रम हो या पूर्णरूपले पाखण्ड मात्र हो ।

    पत्रकारिता या सञ्चारलाई सत्ताको चौथो अङ्ग पनि भनिन्छ । यो एउटा वास्तविकता हो । सत्ता रहँदासम्म जसरी सत्ताका अङ्गहरू (व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका) ले सत्ताको वरिपरि रहेर उसको पक्षपोषण गर्ने काम गरिरहेका हुन्छन्, ठीक त्यसैगरी चौथो अङ्गको रूपमा रहेको पत्रकारिताले पनि सत्ताको वरिपरि रहेर उसको बचाउ र विकास गर्ने काम गरिरहेको हुन्छ । जब कुनै सत्ताका विरुद्ध अर्को सत्ता सङ्घर्ष गर्न थाल्छ, स्वाभाविक रूपले पुरानो सत्ताको ध्वंस र नयाँ‘ सत्ताको निर्माणको पक्षधर सञ्चारले विरोध गर्दछ । यो कुरा युद्धमा सञ्चारको भूमिकाको सन्दर्भ पनि सत्य हो । युद्धको कुरा गर्दा सञ्चारलाई पनि युद्धको एउटा अस्त्रको रूपमा बुझ्न आवश्यक हुन्छ । सञ्चारको प्रयोगले मानिसको चेतना र मनोविज्ञानमा ठूलो असर पार्ने गरेको हुन्छ । त्यसकारण युद्धमा सञ्चारको ठूलो महत्व रहेको हुन्छ । त्यसकारण पनि हुन सक्छ जर्मन सैन्यविशेषज्ञ क्लावल्वीजले भनेका थिए, “झुट कुरालाई १ सय पटक प्रचार गरियो भने त्यो सही मानिन सक्छ । र, साम्राज्यवादीहरू, सामन्तवादीहरू तथा नोकरशाही दलाल पुँजीवादीहरूले सञ्चारको दुरूपयोग गरिरहेका छन् र हजारौँ झुठमुठका कथा सयौँपटक प्रचार गरिरहेका हुन्छन् ।”
    आजको विश्वमा साम्राज्यवादीहरूले समग्रयुद्ध लड्ने गरेका छन् । चाहे त्यो जापानको युद्ध होस् या युगोस्लाभियाको, चाहे त्यो अफगानिस्थानको युद्ध होस् या त्यो इराकको, साम्राज्यवादी अमेरिकाबाट यी सबै युद्धमा समग्रयुद्धको रणनीति र कार्यनीतिको प्रयोग गरिएको छ । इराकयुद्धको उदाहरण लिऔँ, इराकलाई उपनिवेश बनाउन अमेरिकाले राजनीतिक, वैचारिक, प्रचारात्मक, मनोवैज्ञानिक, आर्थिक, सामाजिक र फौजीयुद्धको नीति अख्तियार गरेको थियो । राजनीतिक रूपले युरोप तथा मध्यपूर्वका देशहरूलाई आफ्नो पक्षमा पार्ने, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई आफ्नो अनुकूल प्रचार गर्ने; वैचारिक रूपले सद्दाम हुसेनको सरकार ‘समाजवादी पार्टी’ (बाथ पार्टी) भएकोले त्यो तानाशाही तथा प्रजातन्त्र विरोधी भएको पुष्टि गर्ने; प्रचारात्मक रूपले आणविक बमहरू तथा एन्थ्रेबन्स जस्तो घातक बिषादी उत्पादन गरेको लगातार पचार ्र गर्नु; मनोवैज्ञानिक रूपले विश्वभरका जनतालाई इराकमाथि कार्बाही गर्न ठीक थियो भन्ने पार्नु; आर्थिक रूपले देशमा आर्थिक नाकाबन्दी गर्ने र देशभित्र उडान निषेधित क्षेत्र घोषणा गरी नाकाबन्दी गर्ने; सामाजिक रूपले देशभित्रै अन्तर्विरोध पैदा गरिदिने र आर्थिक रूपले फौजी हमला गर्ने समग्रयुद्ध नीति अख्तियार गरेको थियो । अन्य क्षेत्रले जस्तै अन्तर्राष्ट्रिय प्रचार क्षेत्रले पनि युद्धमा धेरै ठूलो महत्व राखेको थियो ।

    जनयुद्धको सन्दर्भमा पनि सर्वहारावर्गले यसप्रकारको युद्धको मुकाविला रणनीतिक र कार्यनीतिक हिसाबले नगरीकन जनयुद्धको विकास गर्न सम्भव हुन सक्दैनथ्यो । अथवा, जनयुद्धको प्रक्रियामा सञ्चारको सर्वहारावर्गीय प्रयोग अनिवार्य हुन्छ भन्ने कुरा पनि स्पष्ट हुन्छ । यसबाट स्पष्ट हुन्छ कि युद्धमा प्रचारको ठूलो महत्व रहेको हुन्छ तर फरक यति मात्र हो कि जुन वर्गको हातमा ती सञ्चारका साधनहरू परेका छन्, ती साधनहरूले त्यही वर्गको हितमा काम गर्ने गरेका छन् । वर्गयुद्धमा सञ्चारको प्रयोग उत्पीडितवर्गबाट ठीक किसिमले हुन सकेन भने उसको पराजय हुने खतरा अत्यधिक रहन्छ । साम्राज्यवाद र समाजवादी क्रान्तिको वर्तमान युगमा साम्राज्यवादको आर्थिक, राजनीतिक, सांस्कृतिक, फौजी, भूमण्डलीकरण गरेको सञ्चार जगत्लाई पनि भूमण्डलीकरणको लपेटामा ल्याइदिएको छ । ठूलो लगानी, हजाराँै बौद्धिक शक्तिको परिचालन तथा अरबौँ डलरका विद्युतीययन्त्र एवम् औजारहरूको प्रयोगबाट समाचार संश्लेषण तथा विश्वभरका समाचारमाथिको आधिपत्य विश्वका वरिष्ठदेखि सडकमा सुत्ने कनिष्ठसम्मको पहुँचले मानिसहरूको दिमागमा तमाम प्रकारका झुट र गलत सन्देश सत्य समाचारका रूपमा सम्प्रेषित भइरहेका हुन्छन् ।

    उत्पीडित वर्गको सञ्चारले यसप्रकारका झुट गलत समाचारको सत्य–तथ्यको वर्गपक्षधरमा अभिव्यक्तका रूपमा सम्प्रेषित गरिदिनुपर्ने हुन्छ । गलत समाचारको प्रवाहलाई सही, सत्य र तथ्यपरक समाचारहरूको खण्डन गर्नु कम चुनौतीपूर्ण काम छैन । आर्थिक, राजनीतिक एवम् फौजी हिसाबले भू–मण्डलीकृत प्रभुत्व जमाएको साम्राज्यवाद निकै मजबुत जस्तो भए पनि जनशक्तिका हिसाबले उत्पीडित जनसमुदाय ठूलो परिमाणमा रहेको छ । यदि यो जनसमुदाय एकीकृत र केन्द्रीकृत हुन सक्यो भने त्यसले साम्राज्यवाद र उसको जटिल युद्ध सञ्चारका विरुद्ध ठूलो शक्ति पैदा गर्नेछ र जनताको हितमा सञ्चारको प्रयोग गर्न सकिनेछ । यो विषयमा युद्धकालीन अवस्थामा नेपालकै सन्दर्भलाई लिऔँ, महान् जनयुद्धको क्रममा नेपालका सञ्चार संयन्त्रहरूले अहिले वकालत गरिने स्वतन्त्रता र निष्पक्षताको नकाव उतार्दै पूर्णरूपले शाहीसेनाको सैनिक तानाशाहीको समर्थन गर्ने, माओवादी जनयुद्धको विरोध गर्ने र जनताको वीरता र बलिदानीलाई होच्याउने र उपहास गर्ने काम गरे । त्यो कठिन समयमा देशभित्रबाट हप्तामा हरेक दिन पर्नेगरी क्रान्तिकारी पत्रकार तथा सङ् गठनहरूबाट साप्ताहिक, पाक्षिक र दैनिक प्रकाशनहरू भए, क्रान्तिकारी आवाज लिएर एफएम रेडियोहरू प्रसारण भइरहे ।

    पार्टीको योजना र निर्देशनमा युरोपबाट वेवसाइटको प्रयोगसहित सञ्चारलाई दरुस्त पारियो र त्यो प्रक्रियाले नेपालको प्रतिगामी सञ्चारको बाढीलाई निस्तेज ग¥यो । यसबाट नेपाली जनता मात्र नभईकन संसारभरिका जनसमुदायलाई नेपाली महान् जनयुद्धको राजनीतिक, वैचारिक एवम् फौजी वास्तविकताको बोध गरायो । जसले जनयुद्ध र नेपाली सामाजिक, आर्थिक परिवर्तनका लागि विश्वको जनमत तयार गर्न सघाउ पु¥यायो । ज्ञानेन्द्र शाहीको सङ्कटकालमा घुमाई–फिराई उसैको भजन गाउने नेपाली सञ्चारहरू बन्द भए तर जनताको सञ्चार बन्द भएन । त्यसको संसारभरिका मानिसले सूसुचित गर्ने काम गरी नै रह्यो । यो अनुभवले बताउँछ कि जनयुद्धमा सञ्चारको ठूलो महत्व रहेको हुन्छ । जनयुद्धको एउटा युद्धक्षेत्र या एउटा युद्धअस्त्र सञ्चार हो । नेपालको अहिलेकै अवस्थामा पनि समाजको आमूल परिवर्तनका विरुद्ध बुर्जुवा वर्ग तथा नेपालको सामन्ती वर्गले सञ्चारको प्रयोग गर्दै आएको छ तर यसप्रकारको सञ्चारलाई जनताको जनवादी सञ्चारले विस्थापित गर्न सकिएन भने समाजलाई पूर्णरूपले परिवर्तन गर्न सम्भव हुनेछैन ।

    (दृष्टिकोण)

     

    प्रतिकृया दिनुहोस्