News Portal

  • प्रधानमन्त्री–सभामुख भेटवार्ता

    जनगर्जन संवाददाता
    ३५९ पटक

    १५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षका प्रमुख सचेतकहरु यति भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।

    तीन सातायता भएका प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनसश’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

    ‘संसदमा बिजनेस नभएको होइन, सरकारले बिजनेस नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरुबीच कुरा भएको छ’ थापाले भने ।

    सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।

    ‘उहाँहरुबीच संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, जरुरी र महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने विषयमा छलफल भएको छ’ न्यौपानेले भने ।

    संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा हाल ३६ वटा विधेयक विचाराधीन छन् । केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन् । तर, प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना हुनलाग्दा समेत कानुन निर्माण प्रक्रियामा संसद प्रवेश गर्न सकेको छैन ।

    सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र सापकोटाबीच गएको भदौ दोस्रो साता यता औपचारिक भेट भएको थिएन ।

    प्रतिकृया दिनुहोस्