News Portal

  • म्यानमारमा सैन्य सरकारकोआतंक एकैदिन मारिए १०० भन्दा बढी

    जनगर्जन संवाददाता
    ८६२ पटक

    एजेन्सी । म्यानमारमा सैन्य कू को विरोधमा उत्रेका प्रदेशनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकसय भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा बालबालिका समेत रहेका छन्।

    माघ १९ गते सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएपछि दैनिक रुपमा प्रदर्शन भइरहेका छन्। प्रहरी र सेनासँग प्रदर्शनकारीहरुको दैनिक नै मुठभेड हुँदै आएको थियो। शनिवार भने म्यानमारमा हालसम्म कै हिंस्रक दिन रह्यो।

    म्यानमारको स्थानीय संचारमाध्यमले शनिवारमात्रै ११४ जनाको मृत्यु भएको जनाएको छ। देशको विभिन्न ४० स्थानमा भएको प्रदर्शन रोक्ने क्रममा प्रहरी र सेनाले कारवाही गरेको थियो। त्यसक्रममा घरभित्र बसिरहेकी १३ वर्षीया बालिकाको समेत गोली लागेर मृत्यु भएको जनाइएको छ।

    जुन्ता सरकारको विरोधमा भइरहेको प्रदर्शनका क्रममा हालसम्म २०० भन्दा बढीको मृत्यु भइसकेको छ। सेनाले सान सूची सहित हजारौं व्यक्तिलाई नियन्त्रणमा राखेको छ। अझैपनि सेनाले विभिन्न आरोप लगाएर मानिसहरु पक्राउ गरिरहेको छ।

    यता अमेरिकाले भने शनिवारको घटनालाई ‘भयभीत बनाउने घटना’ भन्दै सैन्य सरकारको विरोध गरेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी बिल्किनले जुन्ताले केही व्यक्तिलाई सेवा गर्न नागरिकहरुको हत्या गरिरहेको प्रतिक्रिया गरेका छन्।

    उनले म्यानमारमा आंतकको शासन संचालन भइरहेको भन्दै भने ‘ म्यानमारका साहसी नागरिकहरु आतंकको शासन अस्वीकार गर्छन्।’ बेलायत, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले ‍पनि शनिवारको घटना सैन्य सरकारको दमन भएको भन्दै विरोध जनाएको छ।

    प्रतिकृया दिनुहोस्